सरकारले सार्वजनिक गर्‍यो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा



सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ। बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उक्त नक्सा सार्वजनिक गरिएको हो। सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गरेकी हुन्। सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ।

नयाँ नक्सा सार्वजनिक भएसंगै अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।

सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ। सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरेको छ। नयाँ नक्सामा अन्तर्राष्ट्रिय सीमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने यो नक्सामा सङ्घीयताअनुरूप प्रदेश र स्थानीय तह पनि समेटिएको छ।

गत सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले उक्त नक्सा पेश गरेकी थिइन्। सोही दिन मन्त्रिपरिषद्ले पारित गरेको थियो । नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ। आज नयाँ नक्सा सार्वजनिक भएसंगै अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो।

यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो। नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो। भारतीय सेना प्रमुखले भने नेपाल सरकार अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरेको थियो।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार