
सरकारले भारतद्वारा अतिक्रमित कालापानीदेखि लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद बैठकले ७ सय ५३ वटै स्थानीय निकायसँगै भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा पारित गरेको हो । नक्सामा कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहितका भूमि समेटिएका छन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको नक्सा मन्त्रिपरिषद बैठकमा भूमिसुधारमन्त्री पद्मा अर्यालले पेश गरेकी थिइन् ।
सरकारले जेठ २ गते संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिचिएका नेपाली भूभागसहितको नेपालको नक्सा सार्वजनिक गर्ने विषय उल्लेख थियो। संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति र राज्य व्यवस्था समितिले यसअघि नै सबै नेपाली भूभाग समेटेको नयाँ नक्सा जारी गर्न पटकपटक निर्देशन दिएका थिए। भारतले हालै मात्र लिपुलेक हुँदै तिब्बतकाे मानसराेवर जाेड्ने सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले वक्तव्य नै जारी गरेर विराेध जनाएकाे थियाे।