
नायिका करिश्मा मानन्धरको आज जन्मदिन । १९७२ फेब्रुअरी ४ तारिखका दिन उनको जन्म भएको थियो । यस आधारमा आज उनी आफ्नो ४८औं जन्मदिन मनाउँदैछिन् । नेपाली चलचित्र क्षेत्रमा करिश्मालाई सदाबहार नायिकाको रूपमा चिन्ने गरिन्छ ।
२०४२ सालमा बनेको ‘सन्तान’ चलचित्रबाट करिश्माले आफ्नो चलचित्र करियर सुरु गरेकी हुन् । त्यसबेला उनी १६ वर्षकी मात्र थिइन् । नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशक बिताउँदा पनि करिश्माको लोकप्रियतामा कुनै कमी आएको छैन । उनले खेलेका दर्जनौं चलचित्र सुपरहिट भएका छन् । चलचित्र खेल्दाखेल्दै निर्माणमा समेत हात हालेकी करिश्मा १० वर्ष अमेरिका भासिइन् ।
आफूले बनाएको ‘जिद्दी’ र ‘बाबुसाहेब’ चलचित्र फ्लप भएपछि उनी विरक्त हुँदै अमेरिका गएकी हुन् । अमेरिका १० वर्ष बसेर फर्केपछि उनले फेरि अभिनय र चलचित्र निर्माण थालिन् । केही समय राजनीतिमा समेत होमिएकी करिश्मा अहिले नयाँ चलचित्र निर्माणमा जुटेकी छन् । उनी छोरी कवितालाई नायिकाको रूपमा डेब्यु गर्ने तयारीमा छिन् ।