दासढुंगामाथि राजनीति : न बिर्सिन्छन् न छानबिन गर्छन्



काठमाडौँ, ४ वैशाख । हरेक वर्ष जेठ ३ गते जस्तै यसपालि पनि शनिबार बिहानै नेकपा अध्यक्षहरूको वक्तव्य आयो । तीन पृष्ठ लामो वक्तव्यमा २७ वर्षदेखि भनिँदै आएको ‘कर्मकाण्डी’ कुरा दोहोरियो– मदन भण्डारी र जीवराज आश्रित मारिएको रहस्यमय घटनाको अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने ।

पार्टीका नेताहरू पटकपटक सरकारको नेतृत्वमा पुगे, भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति छिन् तर यो घटना, छानबिन र दोषीलाई कारबाही गर्ने भन्ने वक्तव्य र भाषणभन्दा माथि उठेको छैन । बरु चितवनको दासढुंगाको यो घटना र मदन भण्डारीको व्यक्तित्व नेकपाका नेताहरूलाई राजनीति गर्ने बलियो हतियार भएको छ ।

भण्डारीले नै नेतृत्व गरेको तत्कालीन एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली (दुई पटक) प्रधानमन्त्री भए । अहिले भण्डारीको प्रखर अनुयायीका रूपमा उदाएका तत्कालीन माओवादीका पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री बने । माओवादीमै रहँदा बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए । तर कुनै बेलाका चर्चित कम्युनिस्ट नेताको त्यो दुर्घटनाको रहस्य पत्ता लागेन ।

तत्कालीन एमालेका खोटाङ जिल्ला सचिव एवं राजनीतिक विश्लेषक हरि रोकाका अनुसार दासढुंगा दुर्घटनाबारे छानबिन गर्न बनेको ओली नेतृत्वको आयोगको प्रतिवेदन नेतृत्वले लामो समयसम्म सार्वजनिक गरेको थिएन । ‘हामीले ०५१ मा जनकपुर र ०५३ मा पाल्पामा भएको पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठकमा प्रतिवेदन किन आएन भनेर सोधेका थियौं,’ रोकाले कान्तिपुरलाई सुनाए, ‘त्यसको जवाफ महासचिव माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओली दुवैले दिनुभएन ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार