
काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट पहिलो निधन भएको पुष्टि गरेको छ। विहिवार धुलिखेल अस्पतालमा कोरोनाकै कारण सुत्केरी महिलाको निधन भएको मन्त्रालयले पुष्टि गरेको हो । शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक निधन भएको पुष्टि गरेको हो। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ।
ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्ज पछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन्।पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो।
महिलाको निधन पछि उनको घर र माइती दुवै गाउँ सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे हो भने माइती गाउँ बलेफी गाउँपालिका हो । बलेफीको ७ र ८ वडालाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पुष्टि गरेका छन् । सुत्केरीलाई भेट्न उनका माइती गाउँका आफन्त महिलाको घर गएका थिए । त्यसैले माइती गाउँलाई पनि सिल गरिएको हो । त्यसका लागि सेना पनि परिचालन गरिएको छ । माइती र घरको वडावाट मानिसलाई भित्र जान र वाहिर आउन नदिनका लागि प्रहरीलाई सेनाले सघाउने छ ।
धुलीखेल अस्पतालमा उनको उपचारमा संलग्न ३ जना स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको छ ।कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसारनै सेना र प्रहरीले धुलिखेल अस्पतालबाट महिलाको शव पशुपति आर्यघाटतर्फ ल्याइएको छ । प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार महिलाको अन्त्येष्टि आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने छ।
कसरी गरिन्छ कोरोनाबाट निधन भएकाको दाहसंस्कार ?
कोरोनाबाट निधन भएकाको अन्तिम संस्कार गर्ने कार्यविधि फरक छ । कोरोनाबाट दाहसंस्कार गर्नेबारेमा सरकारले छुट्टै कार्यविधि बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गते जारी गरेको कार्यविधि अनुसार कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको अन्त्येष्टि अन्य कारणले निधन भएका मानिसको भन्दा भिन्नै तरिका अपनाउनु पर्छ। कोरोना संक्रामक रोग भएकाले यसको अन्त्येष्टिका लागि फरक विधि तय गरिएको हो। कोरोनाबाट निधन भएकाको शव उठाउनुअघि शवबाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ।
यस्तै, मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने कार्यविधिमा उल्लेख छ। शवलाई सकेसम्म चाँडो घाटमा पर्याउनुपर्ने, ६० वर्ष कटेका र दीर्घ रोगीलाई कोरोना संक्रमणले निधन भएका व्यक्तिको नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा त्यस्ता मृतकको पोस्टमार्टम सामान्यतया गर्न नपर्ने र गर्नुपर्ने भए पनि सावधानी अपनाएर मात्रै गर्नु पर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधि अनुसार मृतकका परिवार र आफन्तले एक मिटर टाढाबाट मात्र शव हेर्न पाउने छन्।
भुलबस यसअघि मृत्युु भएकी महिलाको तस्बिर पर्न गएकोमा क्षमाप्रार्थी छाैँ । सम्पादक