
काठमाडाैं, २ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा प्रभाकरले सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्नुभएको छ । सांसद विकास कोष कार्यक्रम खारेज गरेर हरेक निर्वाचन क्षेत्रमा जाने ६ करोड रुपैयाँ अन्य क्षेत्रमा लगाउन माग भइरहेका बेला सांसद शर्माले यस्तो माग गर्नुभएको हो । ट्वीटमार्फत शर्माले भन्नुभएको छ, ‘राष्ट्रको समग्र विकासको मूल रणनीतिभित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र विकास कोष चाहिँदैन।’
आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट निर्माणमा जुटिरहनु भएका अर्थमन्त्री डा. युवराज खतिवडाले संसद विकास कोषका नामले चिनिने स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमलाई निरन्तरता नदिने संकेत दिनुभएकाे थियाे । यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘सांसद विकास कोष’ खारेज गर्न माग गरेको थियाे ।