सेना र प्रहरीको सहयोगमा तिनपाने भञ्ज्याङमा बागमती र गाेदावरीकाे संयुक्त हेल्थ डेस्क !



ललितपुर । कोरोना भाइरसको रोकथाम तथा यसको जोखिमबाट बच्न आजबाट गोदावरी नगरपालिका र बागमती गाउँपालिकाकाे सहकार्यमा कान्ति लाेकपथ स्थित तीनपाने भञ्ज्याङमा हेल्थ डेस्क स्थापना गरिएको छ । गाेदावरि नगरपालिकाले आजैदेखि दुईवटा नाकामा हेल्थ डेस्क सुरुवात गरेको छ । नगरपालिकाले वडा नं ५ मा पर्ने तिलेश्वर र वडा नं ६ मा पर्ने तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुवात गरेको हाे । कोरोनाको संक्रमित बढ्दै जाँदा यसको रोकथामका लागि नगरपालिकाले दक्षिणी भेगको नाकाको रुपमा पर्ने यी स्थानहरुमा हेल्थ डेस्कको शुरुवात गरेको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।

उक्त दुई नाकाबाट उपत्यका प्रवेश गर्ने व्यक्तिहरुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश पाउनेछन् । वडा नं ६ स्थित तिनपाने भञ्ज्याङ कान्तिलोकपथ अन्तर्गत पर्ने मुख्य नाका हाे । यहाँबाट बारा, पर्सा, हेटौंडा लगायतका जिल्लाबाट सवारीसाधन भित्रने गरेको गुनासो छ । साेहि जनगुनासाेकाे आधारमा गाेदावरी नगरपालिका र बागमती गाउँपालिकाकाे संगममा हेल्थ डेस्क राखिएको हाे । । उक्त हेल्थ डेस्क स्थापनाका लागि वडा नं ५ का वडा अध्यक्ष मिलन सिल्वाल र वडा नं ६ का वडा अध्यक्ष विष्णुमान महर्जनले समन्वयकारी भुमिका खेलेकाे मेयर महर्जनले बताए । हेल्थ डेस्क नेपाली सेना र नेपाल प्रहरीको सहभागितामा स्थापना गरिएको हाे । तिनपाने भञ्ज्याङमा स्थापना गरिएकाे हेल्थ डेस्कमा बागमती गाउँपालिकाले थर्मल गन सहितको स्वास्थ्यकर्मी राख्ने छ । उपत्यका भित्रने एक नाकाको रुपमा रहेको उक्त भञ्ज्याङमा यसअघि नै हेल्थ डेस्क राख्न पहल गरिए पनि अहिले सम्भव भएको बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लाेप्चनले बताए । यसअघि गाेदावरी नगरपालिकाले पालिका भित्र बाहिरी जिल्लाबाट काेहि आएमा अनिवार्य क्वारेन्टाइन बस्न र स्वास्थ्य चेकजाँच गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार