नेपाल राष्ट्र बैंकले यसपालिको दसैंमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ।
राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो। यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए।
‘नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन। तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ’, उनले भने, ‘सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्नेछ।’
सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो। सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेको थियो।
दसैंको मुखमा सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले बताए।
‘विगतका दसैंमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन्। ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रने तथा कुहिने अवस्था सृजना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हो’, उनले भने।
नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ। यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ।
बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हातहातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ। यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको निर्देशक भट्टराईले बताए।
चाडबाडका समयमा मुख्यतयाः रु ५, १०, २०, ५० र १०० दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ। साना दरका यस्ता नोटको होल्डिङ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन रहेको पाइन्छ।
रु पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबार अनुरुप माग हुने गरेको छ। देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटहरुलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ।
मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो। आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोटमात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना मैला नोट खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो।