एक नेपाली बराबर ४० हजार रुपैयाँ सार्वजनिक ऋण



१ जेठ, काठमाडौं । नेपालको सार्वजनिक ऋण १२ खर्ब नजिक पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक (चैत मसान्त)सम्म नेपालले लिएको ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो ऋणलाई बुधबारसम्म केन्द्रिय तथ्यांक विभागकाे तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९९ लाख ५३ हजार २ सय ९० जनाले भाग लगाउँदा एक नेपालीको भागमा ३९ हजार ९ सय १५ रुपैयाँ ऋण पर्न जान्छ ।

सरकारले पछिल्लो तीन महिनामा मात्र आन्तरिक र बाहृय गरी ९० अर्ब ४६ करोड १६ लाख ८२ हजार रुपैयाँ लिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा बाहृय ऋण ६० अर्ब ३ करोड २२ लाख र आन्तरिक ऋण ३० अर्ब ४२ करोड ९४ लाख रुपैयाँ उठाइएको छ । पछिल्लो तीन महिनामा सरकारले ८.१८ प्रतिशतले ऋण थपेको छ ।

जीडीपीको ३१.९० प्रतिशत ऋण
नेपालको कूल र्गाहस्थ उत्पादन (जीडीपी) को ३१.९० प्रतिशत बराबर नेपालको सार्वजनिक ऋण पुगेको छ । केन्दि्रय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जीडीपीको आधार भने ३७ खर्ब पुगेको छ । नेपालको सार्वजनिक ऋणमध्ये बाहृय ऋण जीडीपीको १८.८ प्रतिशत र आन्तरिक ऋण १३.०२ प्रतिशत रहेको आंकडा छ ।

चालु आवको ९ महिनामा थपियो १ खर्ब २० अर्ब ऋण
चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनाको अवधिमा सरकारले १ खर्ब २० अर्ब सार्वजनिक ऋण थपेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म ६५ अर्ब ७२ करोड २६ लाख रुपैयाँ बाहृय ऋण प्राप्ती भएको छ ।

जसमा बहुपक्षीय स्रोतबाट ४५ अर्ब ६३ करोड ६८ लाख र द्विपक्षीय स्रोत (मित्रराष्ट्रहरु)बाट २० अर्ब ८ करोड ५७ लाख रुपैयाँ ऋण प्राप्त भएको छ । आन्तरिक ऋण भने सरकारले चैत समान्तसम्म ५५ अर्ब २६ करोड उठाएको छ । यसभित्र अन्तराष्ट्रिय मुद्रा कोषले ‘भ्यालू एडजस्टमेन्ट’का लागि दिएको सुविधासमेत जोडिएको छ । यसबाहेक ‘टे्रजरी बील’बाट पनि आन्तरिक ऋण संकलन गरिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार