
सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीले चाहेको खण्डमा सधैं घरबाटै काम गर्न सक्ने बताएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्विटरका करिब पाँच हजार कर्मचारीले मार्चको शुरुआतदेखि नै घरबाट काम गर्दै आएका छन् । सामाजिक सञ्जालले अहिलेसम्म घरबाट पनि राम्रो काम हुँदै आएकाले आगामी दिनमा पनि चाहेको खण्डमा उनीहरुले घरबाटै काम गर्न सक्ने व्यवस्था गरिने बताएको हो ।
ट्विटरका सीईओ ज्याक डोर्सीले इमेलमार्फत आफ्ना कर्मचारीहरुलाई पछिल्लो केही महिनामा सबैले घरबाटै काम गर्न सकिन्छ भन्ने कुरा साबित गरिदिएको बताएका छन् । उनले घरबाट काम गर्न नसक्ने कर्मचारीका लागि यस वर्षको अन्तिमसम्ममा कार्यालय खुला रहने बताएका छन् । यद्यपि सेप्टेम्बरभन्दा पहिला भने कार्यालय खुल्नेछैन । बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र सिंगापुरमा सहित ट्विटरको विश्वभर ३५ कार्यालयहरु छन् । फेसबुक र गूगलजस्ता कम्पनीहरुले पनि आफ्ना धेरै कर्मचारीहरुलाई यस वर्षको अन्तिमसम्म घरबाटै काम गर्न स्वीकृति दिइसकेका छन् ।
स्रोत : बीबीसी