विष्णु माझीको ‘आइन आमा यो तीजमा’ ले राख्यो रेकर्ड



काठमाडौं । विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ २४ घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली भाषाको गीत बनेको छ । एकैदिनमा यो गीतलाई १५ लाख पटक हेरिएको छ ।

यो समाचार तयार पार्दासम्म (१० गते बिहान ०८ बजे)सम्म गीतलाई २७ लाखभन्दा बढी पटक हेरिएको छ । यो ट्रेन्ड कायम रहे, दोस्रो दिन आइतबारसम्म गीतले २० लाखको आँकडा सजिलै पार गर्ने देखिन्छ ।

शनिबार बिहान ‘सपना म्युजिक इन्डष्ट्रिज’ नामक युट्युव च्यानलबाट गीत रिलिज भएको थियो । यो गीतलाई युट्युवमा अहिलेसम्म झण्डै १८ हजार प्रतिक्रिया प्राप्त भएका छन् । लाइक समेत १ लाख ७० हजारभन्दा बढी छ ।

टिकटक र रिल्समा समेत यो गीतमाथि प्रशस्तै भिडियो बनेका छन् । तीनदिनअघि सरकारले टिकटकलाई खुला गरेपछि विष्णु माझीको नयाँ गीतलाई झनै फाइदा पुगेको देखिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार