भक्तपुरमा घरबाहिर निस्कन प्रतिबन्ध, सवारी पास खारेज



भक्तपुर, १ जेठ । भक्तपुर जिल्लामा २ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले लकडाउनमा कडाइ गर्ने निर्णय गरेकाे छ । बैठकले भक्तपुरमा जेठ १ गते आजबाट अति आवश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन नदिने निर्णय गरेको हाे । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोभिड- १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी कोही पनि सर्वसाधारण घरबाहिर निस्कन नपाउने तथा अतिआवश्यक वस्तुबाहेक व्यापार-व्यवसाय र उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको हाे ।

त्यस्तै बैठकले संक्रमित दुई जना व्यक्तिहरुको यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, बासस्थान सिल गर्ने, परिवारका सबै सदस्यहरुको तुरन्त कोरोना परीक्षण गरी आवश्यक परे आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने व्यवस्था स्वास्थ्य कार्यलय र भक्तपुर अस्पतालले मिलाउने निर्णय समेत गरिएको छ । यसअघि गृहमन्त्रालयको निर्देशन अनुसार एक जिल्लाबाट अन्य जिल्ला जानको लागि जारी गरिएको सवारी पास पनि खारेज गर्ने निर्णय बैठकले गरेको छ । बैठकले भक्तपुर जिल्ला प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेकको व्यक्ति तथा सवारी साधन निषेध गर्ने पनि निर्णय गरेको छ ।

यस्तै नगरपालिकाहरुले क्वारेन्टाइन तयारी अवस्थामा राख्ने, वडाहरु मर्फत आफ्ना क्षेत्रमा बाहिरबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टाइनमा वा आइसोलेसनमा पठाउने काममा समन्वय गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेकका व्यक्ति तथा सवारी साधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन तथा नियमनको काम गर्ने, विपन्न, र खाद्यान्न अभाव भएकाहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार