एचआईभी जस्तै कोरोना भाइरस पनि कहिल्यै अन्त्य नहुन सक्ने डब्लूएचओको चेतावनी



एजेन्सी, ०१ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस अझै जटिल हुनसक्ने चेतवनी दिँदै आएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको निर्मूलनमा लामो समय लाग्ने यसअघिदेखि नै बताउँदै आएको थियाे । यद्यपि विश्वभरमा विज्ञ तथा डाक्टरहरु यसको औषधि आविस्कारका लागि सकेसम्मको प्रयासमा छन् । यसै क्रममा डब्लूएचओका आपतकालीन मामला निर्देशक माइकल रयानले कोरोना भाइरस पनि एचआईभी एड्सजस्तै कहिल्यै अन्त्य नहुनसक्ने खतरा रहेकाे चेतावनी दिएका छन् ।

उनले जेनेभाको एक भर्चुअल प्रेस कन्फ्रेन्समा भने- ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक अन्य भाइरस बन्न सक्छ र हामीबाट कहिल्यै नसकिन पनि सक्छ ।’ उनले एचआइभीको उदाहरण दिँदै एक निको नहुने भाइरस बन्नसक्ने प्रक्षेपण गरेका हुन् । साथै उनले खोपबिना आम मानिसलाई यो रोगसँग लड्नका लागि इम्युनिटीको उपयुक्त स्तर हासिल गर्न धेरै वर्ष लाग्ने बताएका छन् । संगठनको तथ्याङ्कअनुसार विश्वमा अहिले कोरोना भाइरसको औषधि लागि १ सयभन्दा धेरै खोप निर्माण भइरहेका छन् । तर ती खोप प्रभावशाली नहुनसक्ने विज्ञहरुले बताइरहेका छन् ।

नेपालसहित विश्वभर कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । डब्लुएचओले सबै मुलुकलाई अझै पनि उच्च सतर्कतामा रहन सल्लाह दिँदै आएको छ । संसारभर अहिले ४४ लाख २९ हजारभन्दा बढीमा काेराेना संक्रमण पाइएकाे छ भने २ लाख ९८ हजार १६५ काे ज्यान गइसकेकाे छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार