
सिन्धुपाल्चोक । पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले विकासका बारेमा सबैकाे एक मत हुनुपर्छ भन्ने धारणा राख्नुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत मेलम्ची नगरपालिकाकाे सिन्धु भ्याली स्थित वडा नं ३ हैबुङ्ग स्वास्थ्य चौकीकाे भवन समुद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री बस्नेतले चुनावकाे बेलामा मात्रै आआफ्नो घाेषणापत्र बाेक्ने हाे भन्नुहुँदै विकास गर्ने बेलामा समान धारणा बनाएर एकजुट भइ लाग्नुपर्ने बताउनुभएको हाे ।
“काेराेनाकाे समयमा सरकारले ‘अक्सिजन’ बाँड्न नसक्दा मेराे नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले ‘अक्सिजन सिलिन्डर’ बाँडेको हाे, पदमा हुँला वा नहुँला, विकासका काम गर्न पछि पर्नेछैन।” उहाँले भन्नुभयो ।
नेता हुनेले के ठिक के बेठीक भन्ने छुट्याउन सक्नुपर्छ भन्नुहुँदै पूर्वमन्त्री बस्नेतले बनावटी कुरामा भन्दा काममा विश्वास गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य चौकीकाे भवन उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री बस्नेतले स्वास्थ्य चाैकी भवन निर्माण तथा स्वास्थ्य सामग्रीहरु व्यवस्थापनका लागि क्रियाशील हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे ।
संघ, प्रदेश र स्थानीय तहबाट आवश्यकताअनुसार विकासका लागि बजेट व्यवस्थापन हुने बताउनुहुँदै उहाँले सिन्धु ‘भ्याली’ भविष्यकाे लागि राम्रो आम्दानीकाे स्राेत हुने पर्यटकीय क्षेत्र हुनसक्ने बताउनुभयो ।
सिन्धुपाल्चोकबासीकाे मतबाट जितेर देशकाे स्वास्थ्यमन्त्री हुने अवसर पाएकाे बताउँनुहुँदै पूर्वमन्त्री बस्नेतले आफू मन्त्री भएको बेलामा देशभरका संघीय अस्पतालमा गरिब तथा विपन्नहरुकाे निशुल्क उपचारका लागि दश प्रतिशत ‘वेड’हरुकाे व्यवस्थापन गराएकाे बताउनुभयो । वडाले गरेको सिफारिसका आधार संघीय अस्पतालहरुले गरिब तथा बिपन्नलाई निशुल्क उपचार गरिदिने बताउनुहुँदै उहाँले आफ्नो दश महिने कार्यकालमा संघीय अस्पतालमा ३ हजार पाँच सय ‘जनरल वेड’हरु निशुल्क बनाएकाे बताउनुभयो ।
पूर्वमन्त्री बस्नेतले उपचारका लागि पैसा नभएर अस्पतालकाे झ्यालबाट हाम फाल्नुपर्ने, विद्यालयकाे शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने, परीक्षामा असफल भएर आत्महत्या गर्ने अवस्थाकाे अन्त्य गर्नाका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।