साइकल जात्रा ‘कोरा २०२४’ साउन ५ गते



काठमाडौँ । सहरलाई स्वस्थ र स्मार्ट बनाउनका लागि साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुने भएको छ । करिब चार हजार साइकलयात्री सहभागी हुने ‘कोरा २०२४’ को १४ औँ संस्करण हो ।

सहरलाई स्वास्थ्य बनाउन साइकलको प्रयोग गर्नुपर्ने वातावरणविद् भुषण तुलाधारले बताए । ‘उपत्यकाको प्रदूषण अधिकांश सवारी सधानको प्रयोगले भएको छ,’ उनले भने, ‘साइकल संस्कृति प्रवर्द्धन गर्न सके हावाको प्रदूषण घट्ने र सहर स्वस्थ हुने देखिन्छ ।’ साउन ५ गते देशकै ठुलो साइकल जात्रा गर्न लागेको आयोजकले जनाएको छ ।

सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौँको कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुरु भएर काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनको नागबाहालमा अन्त हुने गर्छ । साइकल यात्रीहरूले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्ने छन् ।

हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने कोरामा यो वर्षको काठमाडौँ कोरामा ललितपुर महानगरपालिका पनि सह– आयोजकको रूपमा सहभागी भएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । ‘हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने काम गरिरहेका छौँ’ उनले भने, ‘कोरा जस्ता स्थानीय प्रयासहरूसँगको सहकार्यले यस अभियानलाई थप टेवा दिने छ ।’

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकाले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ ।

कोरा आयोजनाको मूल उद्देश्य देशभरि नै साइकलिस्ट समुदायहरू विकास गरी साइकल संस्कृतिको प्रवर्धन गर्नु रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार