आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो।
भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जितेको हो। १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो।
भारतलाई उपाधि जिताउन १६ औं ओभरमा हार्दिक पाण्ड्याले लिएको विकेट महत्वपूर्ण रह्यो। पाण्ड्याको बलमा हेनरिच क्लासेन रिशभ पन्तबाट क्याच आउट भएपछि दक्षिण अफ्रिकाको जित सम्भावना कमजोर बन्दै गएको थियो।
१७ औं ओभरमा जसप्रित बुमराहले मार्को जनसेनको विकेट लिएपछि दक्षिण अफ्रिका दबाबमा परेको थियो। १९ औं औभरको पहिलो बलमा डेविड मिलर आउट भएपछि भने खेल भारतको पक्षमा पुगेको थियो।
पाण्ड्याले अन्तिम ओभरको पाचौं बलमा कगिशो रबाडालाई आउट गरेपछि भारतको जित सुनिश्चित भएको थियो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले अर्धशतक हाने। उनले २७ बलमा २ चौका र पाँच छक्का हानेर ५२ रन बनाए।