गाेदावरीका मेयरलाई खुल्लापत्र : मेयरसाब लकडाउनमा कडाइ गराैँ !



नगरप्रमुखलाई खुला पत्र
श्री नगरपिता ज्यू
गोदावरी नगरपालिका, ललितपुर
विषय : ध्यानाकर्षण गरिएको बारे।
बिश्व समुदाय नै कोरोना भाईरस (कोभीड-१९)को महामारी विरुद्ध भिडिरहेको सन्दर्भमा नेपाल पनि यसको असरबाट अछुतो रहन सकेन । बिगत ४५ दिन अघि देखी तपाईं हामी सबै बन्दाबन्दीको नाममा आआफ्ना घर,कोठा र कम्पाउन्ड भित्रै बन्दी जिवन ब्यतित गर्दै छौँ । यस बिचमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले कोभीड-१९ को महामारीसँगको लडाइँमा गरेका महत्वपूर्ण प्रयासका लागी मुक्तकन्ठले प्रशसा गर्न चाहन्छु । यस महामारी विरुद्धको लडाइँमा हामीलाई घरमा राखेर आफ्नै जिवन धरापमा हुँदाहुँदै पनि अग्रभागमा रहेर भिडिरहनु भएका सेता र निला पोशाकधारी स्वास्थकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी र अत्यावश्यक सेवा प्रदायक निकायका नायकहरु प्रती हार्दिक स्यालुट गर्न चाहन्छु । उहाँहरूको यो योगदानलाई राज्यले कहिल्यै भुल्नुहुदैन र भुल्ने छैन पनि ।

भौगोलिक रुपमा उपत्यकाकै सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको यश गोदावरी नगरपालिकाको प्रमुख हुनु भएकोमा पुन: एक पटक यो पत्र मार्फत हार्दिक बधाई र सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु । यो अवसर तपाईंको लागी जति गौरवपूर्ण छ त्यतिकै चुनौतीपूर्ण पनि देख्दछु । प्रसङ्ग कोरोना भाईरसको प्रभाव भएकाले म अन्य बिषय वस्तुलाई सिमित गरि त्यसै तर्फ प्रवेश गर्न चाहन्छु। गोदावरी नगरपालिका क्षेत्रफलको हिसाबले उपत्यकाको सबैभन्दा ठुलो नगरपालिका (नगरपालिका मध्ये) मात्रै होइन भिरपाखायुक्त पहाडी भुबनोट भएको देबिचौर(जौबारी, समथर फाट भएका लेले,टीकाभैरव, शहरी सेवासुबिधा भएको चापागाउ(टौखेल),अल्पसंख्यक जनजातीको बसोबास भएको डुकुछाप, सिखर्पा, पहाडे, कोड्कु,एकल जातिय बसोबास भएको प्याङ्गाउ, बुलु,ठेचाे जस्ता समुदाय यहाँका मौलिक बिशेषता हुन् । यस्तो विषम भौगोलिक, आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक परिवेश बिच हामी विद्यमान छौ। ठुलो भौगोलिक क्षेत्र मात्रै होइन जनसंख्यागत तथ्याङक पनि सानो होइन। अझ खास गरि स्थाई बसोबास र ठेगाना अन्यत्र भई बसोबास यस नगरपालिका भित्र रहनेहरुको संख्या पनि उल्लेखनीय नै छ।

देशको राजधानीलाई तराई र अन्य जिल्लाहरुसँग जोड्ने ठुला गौरवपुर्ण राजमार्गहरु कान्ती लोक पथ र काठमान्डौ-तराई द्रुत मार्ग पनि यसै नगरपालिका हुँदै निर्माणाधिन अवस्थामा छन् । त्यस बाहेक दक्षिण ललितपुर हुँदै काभ्रेपलान्चोक, सिन्धुली,मकवानपुर र तराईका जिल्लाहरुसम्म पुग्ने छोटो दुरिका सडकहरु यसै नगरपालिकाको नाका हुदै जान्छ्न्। त्यसैले गोदावरी नगरपालिका उपत्यकाको एक महत्त्वपूर्ण सामरिक महत्व बोकेको नगरपालिका हो भन्दा अत्युक्ति नहोला। एकातिर यस क्षेत्रको व्यापारीक महत्व पनि नजरअन्दाज गर्न सकिने किसिमको छैन । यस नगरपालिकाको प्रमुख व्यापारीक केन्द्र चापागाउ-प्याङगाउ- टाहाखेलमा मात्रै दिनहुुँ करोडौंको कारोबार हुने गरेको अवस्था छ।

समग्र विश्व र मानव जातिको अस्तित्व माथी नै प्रश्नचिन्ह उठाउदै आफ्नो प्रभुत्व जमाउन सफल कोरोना भाईरसले चिनको उहानबाट सुरु गरेको आफ्नो परिभ्रमण पुन: एसिया तर्फ आउने क्रममा छिमेकी मुलुकहरुबाट नेपाली भुमिमा पनि प्रवेश गर्न सफल भयो । दिन दुई गुणा रात चार गुणा आफ्ना संक्रमित संख्या वृद्धि गर्ने अचुक वरदान पाएको यो भाइरसको संक्रमण कम गर्न नेपाल सरकारको आव्हानमा हामी लकडाउनमा रहेको पनि लामो समय भैसक्यो । सायद मानव जातिकाे आफनो उत्पत्ति देखी नै यति लामो समय एकैपटक समग्र विश्व नै स्थिर रहन पाएको यो पहिलो इतिहास होला । हामी मानवलाई अरु जे गर भन्दा नि गर्न सक्छौ, अझ नेपालीको बहादुरिताका थुप्रै इतिहास छ्न् तर यसरी घरमै बस्न नसक्ने हाम्रो स्वाभाव अनौठो रहेछ। एकातिर बन्दाबन्दीको दिक्दारी अर्को तर्फ आज काम गरेर आजै खानु पर्ने हाम्रो बाध्यताले यो विषम परिस्थितिको अन्त्य भई खुला आकाशमा निस्कन चाहनु स्वाभाविक नै हो । नेपाल सरकारले लकडाउन लम्ब्याउदा हुनसक्ने आर्थिक संकटलाई दृष्टिगत गरि आवागमनमा केहि सहजता गर्ने र वित्तीय कारोवार गर्ने र उत्पादनशिल क्षेत्रहरु खुला गर्ने निर्णय गरेसंगै काठमाण्डौ उपत्यका सबै भन्दा जोखिम क्षेत्र बन्ने कुरामा दुईमत छैन। यस परिस्थितिमा गोदावरी नगरपालिका उपत्यकाकै अति संवेदनशील र जाेखिमपूर्ण स्थान बन्ने अवस्था आउने सम्भावना प्रवल छ । देशका ७७ वटै जिल्लाबाट आउने श्रमिक, मजदुर र कर्मचारीहरुको उपस्थिति यो नगरपालिकामा भएको पुष्टि यहाँका विद्यालयहरुमा भर्ना भएका विद्यार्थीहरुकाे तथ्यांकले गर्दछ। तसर्थ देशका विभिन्न भुभागमा पुगेका र कोरोना संक्रमित सङ प्रत्यक्ष-अप्रत्यक्ष सम्पर्कमा पुगेका मानिसहरु विभिन्न प्रयोजनका नाममा यो नगरपालिका भित्र फिर्ता आउने क्रम बढेपछी यो ध्यानाकर्षण पत्र कोर्ने दुस्साहस गरेको छु । अन्यथा लिनु हुने छैन भन्नेमा आशावादी छु।

बिगत केहि दिन अघि पनि ठैव, टाहाखेल जस्ता स्थानहरुमा उपत्यका बाहिर बाट लुकिछिपी मानिसहरु आउने गरेको र निजहरुले कोरोनाको त्रासदि बढाएको यहाँलाई विधितै छ। यसरी आउनेहरुले संक्रमण बोकेर आएको त पुष्टि भएन तर आगामी दिनमा उपत्यका बाहिर खतरा बढ्दै जाँदा उपत्यकालाई सुरक्षित ठानेर उपत्यका भित्रने क्रम बढ्नसक्छ । उपत्यका भित्रने एक मुख्य नाका गादावरि नगरपालिकामा पनि भएको कारण यस किसिमको त्रासदीपुर्ण अवस्था रहनु हुन्न भन्ने हाम्रो बुझाई हो।

नगर प्रमुख ज्यु,
आजको जस्तो विषम परिस्थितिमा अब भावनामा बहेर कठै बिचरा अप्ठ्यारोमा परेको होला भनेर छुट दिने अवस्था छैन । अब तपाई र तपाईको नेतृत्वको गोदावरी नगरपालिकाको स्थानीय सरकार कठोर बन्नै पर्छ। जनताको तर्फबाट के कस्तो साथ सहयोग आवश्यक छ आव्हान गर्नुहोस् हामी सदैव साथ दिन तयार छौँ। खास गरि तरकारी,फलफुल,खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरुको ढुवानी तराईका संक्रमित जिल्ला बारा, पर्सा, चितवनबाट निर्वाध रुपमा भईरहेको छ भने अर्का तर्फ तिनै सवारी साधनमा लुकिछिपी मानिसहरु पनि आवतजावत हुने गरेको सुचनाहरु आएका छन् । यसबाट रोगको संक्रमण सहजै भित्रने अनुमान गर्न गाह्रो छैन। तसर्थ अत्यावश्यक सेवाका नाममा हुने गरेको खुलापनको कडाई जरुरी छ। बाहिरी जिल्लाबाट आएका सवारी साधनलाई चेकजाँचमा कडाई गर्ने र निश्चित समय रोकेर निर्मलिकरण गर्ने प्रबन्ध मिलाउने तर्फ यहाँको ध्यानाकर्षण गराउन चाहन्छु । सकेसम्म तरकारी फलफुल जस्ता उपभोग्य सामाग्री स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने र खाद्यवस्तुको मितव्ययी प्रयोग गर्न जनतालाई प्रोत्साहन गर्न पहल गरौँ । दक्षिण ललितपुरको प्रमुख व्यापारिक केन्द्र र राजधानी प्रवेश गर्ने मार्ग भए पनि सरकारले यसलाई नाकाको रुपमा स्विकार नगरेकाले चेकजाच फितलो भएको कारण मानिसहरुको आवागमन निर्वाध रुपमा हुने गरेको छ । यस्तो अवस्थामा चापागाँउ र यस आसपासको क्षेत्र कोरोना संक्रमणको ट्रान्जिट प्वाइन्ट उपत्यका बाहिर बाट यहाँ सम्म र यहाँबाट उपत्यका भित्रका सबै पालिका बन्ने निश्चित छ। तसर्थ एक हप्ता-महिना मिठो नखाए मरिन्न तर रोग लागे भन्न सकिन्नको निति लिनु जरुरी छ।

यस नगरपालिका भित्र हाल सञ्चालनमा रहेका निर्माण आयोजनामा कार्यरत मजदुर र अन्य सेवा प्रदायक निकायहरु (बैंक, बित्तीय सस्था, अस्पताल, पसल, डेरी)मा सामाजिक दुरिको सिद्धान्त अब)अवलम्बन भएको जस्तो लाग्दैन । तसर्थ ति स्थान नै कोरोना प्रसारणको बिन्दु बन्न नदिन तर्फ बेलैमा सचेत र सावधान रहनु पर्दछ। केहि दिन यता स्वास्थकर्मी, सुरक्षाकर्मी र पत्रकारहरु नै संक्रमित हुन थालेका समाचार आइरहदा उहाँहरु आफैमा सुरक्षित रहन र आम नागरिक समाजलाई सुरक्षित राख्न आवश्यक कदम तत्कालै चाल्न आवश्यक देखिन्छ । निजहरुको मनोवल उच्च राख्न र कार्यक्षेत्रमा डटेर लाग्ने वातावरण बनाउनु अब चुनौतीकाे रुपमा खडा भएको छ।

एउटा रोचक पक्ष नगरप्रमुख ज्युलाई अवगत भएकै कुरा हो, गोदावरी नगरपालिका सम्भवत नेपालकै प्राकृतिक स्रोत साधनमा धनी नगरपालिका होला तर यति खेर मुलबाटो सुनसान हुने र त्यहीँ हरियाली बन जङ्गल, खोला नाला, झोलुङ्गे पुल, चौर र खानी क्षेत्रहरु युवाहरु जमघट हुने लागुपदार्थ सेवन गर्ने, जुवातास खेल्ने र बनभोज गर्ने स्थलको रुपमा रुपान्तरित भएका छन् । के थाहा भोली तिनै स्थान कोरोना सार्ने हट स्पोर्ट पो बन्छ्न कि ? यो सर्वविधित पक्षमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ। बिहान बेलुका हुने गरेको मर्निङ वाक र एभिनिङ वाक सुरक्षित छैन त्यसैले घर भित्र नै ब्यायाम गर्न सकिन्छ भन्ने सचेतना खै पुगेको ? आफैलाई नपरी चेत खुल्दैन भन्ने उखान यथार्थ नै रहेछ क्यार कि के हो ? विश्वभर र नेपाल भित्र पनि यति छिटो समयमा रोग फैलिरहेको सुन्दासुन्दै पनि हाम्रा गाउँघर तिर खुलेका चिया पसल, भट्टि पसल, दुध संकलन केन्द्र, चौतारो, धारा, कुवा र पँधेरामा भिडभाड घटेको छैन । कि त्यस्ता स्थानमा केहि नहुने होर ?

एउटा शिक्षकको नाताले शिक्षा क्षेत्रको प्रसङ्ग उठान नगरी पनि चित्त बुझेन। यतिखेर गोदावरी नगरपालिकाका मात्रै होइन देशभरका विद्यार्थीहरु घरभित्र थुनिएर बसेका छन् । गोदावरी नगरपालिका भित्र मात्रै यो संख्या ३०००० भन्दा माथी हुनु पर्दछ । मनाेवैज्ञानिकहरुका अनुसार चञ्चल उमेर, खेल उमेर, साथी समुहको उमेर, उत्सुकताको उमेरका ती केटाकेटीहरुलाई घर-कोठाकै चार दिवार भित्र सिमित गर्दा बाल मानसिकतामा दुरगामी प्रभाव पक्कै पर्दछ। त्यसैले अबको तत्कालीन आवश्यकता भनेको ती विद्यार्थीहरुलाई सिकाई वातावरण तयार गर्नु हो। यसका लागी भौतिक उपस्थिति बिना हुने दुर सिकाई र अनलाइन सिकाई वातावरणकाे सहजीकरण हो । मेरो जानकारीमा भएसम्म तपाई लगायत गोदावरी नगरपालिकाको स्थानिय सरकारमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलका चुनावी घोषणा पत्रमा ईन्टरनेट र फ्री वाईफाईको अवधारणा थियो । अब त्यसको कार्यान्वयन गर्ने उपयुक्त समय आएको छ । केन्द्रमा शिक्षा मन्त्रालयले सबै बालबालिकाहरुमा ईन्टरनेट सुविधा नपुगेकाले अनलाइन सिकाई नगर्नु मात्र भनेको हो यदि हामी गोदावरी नगरपालिकाका सबै बस्तीमा यो सुबिधा बिस्तार गर्न सक्छौं भने आँट गरौ एकपटकको यो प्रयासबाट नेपालकै पहिलो प्रविधि मैत्री सिकाई गर्ने स्थानीय निकाय बन्ने अवसर पनि छ। यसको लागी इच्छाशक्ति भयो भने असम्भव छैन । यदि यस्तो सिकाई वातावरण बनाउने पहल गर्ने हो भने हामी शिक्षक समुदाय आफ्नो तवरबाट जुनसुकै किसिमको योगदान गर्न तत्पर रहेको प्रतिबद्धता जनाउन चाहन्छु ।

भर्खरै एउटा अनलाइन समाचारमा तपाईंले सम्पुर्ण नगरबासीहरुको कोभीड-१९ परिक्षण गर्न इच्छुक भएको तर सामाग्रीको अभाव भएको कारण निर्णयमा पुग्न नसकेको बताउनुभएको रहेछ । यो आफैंमा अत्यन्त आशालाग्दो छ। तपाईंको इच्छाशक्तिले यो चाहना वास्तविकतामा परिणत हुन समय नलगोस्। गोदावरी नगरपालिकाका स्थाई बासिन्दा,यहाँका नागरिक अगुवा, राजनैनिक दलका प्रतिनिधि, बुद्धिजीवी, व्यापारी, लगायत आम नागरिकसँग जोडिएका थुप्रै सहयोगी हातहरु यति बेला विदेशमा गैरआवासिय नेपालिको रुपमा हुनु हुन्छ। कोरोना संक्रमणको कारणले आफु चाहेर पनि परिवार र आफन्तसँग नजिक हुन पाईरहनु भएको छैन । यो महामारीकाे अन्त्यपछि परिवार, आफन्त र साथिभाईहरु सँग जोडिने आशा र अभिलासा बोकेर दिन गन्दै गरेका उहाँहरु आफनो परिवार, समाज र रास्ट्रको लागी जस्तो सुकै त्याग र सहयोग गर्न तयार हुनुहुन्छ। एक पटक सारा विश्वमा छरिएर रहेका गोदावरी नगरपालिका प्रती माया र सद्भाव र सहानुभूति राख्नेहरुसँग परिक्षण सामग्री सहयोगका लागि अपिल गरौ न कतै सम्भव पो भै हाल्छ कि ?

अन्त्यमा पुनश्च: उपत्यकाबासी र दक्षिण ललितपुरबासी को स्वास्थ्य संवेदनशीलता यहाँकै नेतृत्वदायी भुमिकामा रहने गोदावरीको स्वास्थ्य सुरक्षा रणनीतिमा निर्भर रहने प्रती यहाँको ध्यानाकर्षण गर्दै छिटै कोभीड-१९ बिरुद्ध गोदावरी नगरपालिकाको नयाँ प्रभावकारी सुरक्षा रणनीति आउने अपेक्षा सहित यहाँ मार्फत सम्पुर्ण गोदावरी नगरबासीहरुमा सुरक्षित रहौ, सुरक्षित राखौँ भन्ने आव्हान गर्न चाहन्छु।

नानिराम सन्जेल
शिक्षक
सरस्वती माध्यमिक बिध्यालय
गोदावरी-५, लेले ललितपुर
सहसचिब
शिक्षक महासङ्ग गोदावरी नगरपालिका

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार