
हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले संसदमा पेस गरेको अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनको विधेयक र विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको हो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले निर्णायार्थ पेस गरेको प्रदेश सरकारको आर्थिक सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभाको बैठकले बहुमत सहित पारित गरेको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बिच सत्तारुढ दलका बहुमत सदस्यहरूको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको छ । बजेटमा नेपाली कांग्रेस ३७, राप्रपाका १३ र नेकपाकाका ३ सहित ५३ सांसदहरू विपक्षमा रहेका थिए भने सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ५६ जना सांसदहरू बजेटको पक्षमा रहेका थिए ।
प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गर्दै बजेट पारित गरिएको हो ।