
३१ वैशाख, काठमाडौं । कुवेतमा आममाफी पाएर नेपाल फर्किन अनुमति कुरिरहेका नेपालीले आफूहरू बिरामी पर्न थालेको बताएका छन् । क्वारेन्टाइन बनाइएका क्याम्पमा बसेर करिब दुई हप्तादेखि घर फर्किने अनुमति कुरेर बसेका उनीहरूले छिटो उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । क्याम्पभित्रको व्यवस्थापनबारे नबोल्न भनिए पनि बिरामी हुनेक्रम बढ्दै गएपछि ती महिलाहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । अबको दुई हप्तामा नेपाल नफर्काए कुवेतको क्वारेन्टाइनमै मर्नुपर्ने अवस्था आउने उनीहरूले बताएका छन् ।
‘चिसो भुइँमा सुत्छौं, एसीको चिसोमा खाना पनि चिसो खुवाउँछ,’ उनीहरूले भनेका छन्, ‘केही दिनमै नेपाल लैजाने भनेर कागजपत्र बनाइदिएका नेपाली दूतावासका अधिकारीहरू अहिले फोन उठाउँदैन्, उठाउनेले म दूतावासको मान्छे होइन भन्छन् ।’ करिब चार सय नेपाली रहेको क्याम्पको एउटै कोठामा १७ जना कोचिएर बसेको उनीहरूले भिडियोमा बताएका छन् । ज्वरो आउँदा सिटामोल नपाएको, शौचालय निकै असुरक्षित रुपमा प्रयोग गर्नुपरेको उनीहरूको गुनासो छ ।
आफूहरूलाई कि नेपाली नागरिक नै होइन भन्नुप¥यो, नभए यसरी बेवास्ता गर्न नमिल्ने उनीहरूको भनाइ छ । ‘यहाँ हामीलाई भेँडाबाख्रा जसरी राखिएको छ । घाममा निस्कन पनि दिएका छैनन्’, उनीहरूले भनेका छन्, ‘हाम्रो घर–घरमा भोट माग्न जानेहरू हामी अप्ठ्यारोमा परेको बेला किन मुन्टो अन्तै फर्काउँदैछन् ?’ क्याम्पमा रहेका इथियोपियन, फिलिपिनो र बंगलादेशीहरूलाई सम्बन्धित देशले लैजान सुरु गरिसकेको भन्दै उनीहरूले नेपाल सरकारले पनि छिटो उद्धार थाल्नुपर्ने माग गरेका छन् । क्वारेन्टाइन भनिएपनि स्यानिटाइजरसम्म नपाएको भन्दै नेपाली महिलाहरूले प्रश्न गरेका छन् ‘यहाँ उमेर ढल्किन लागिसकेका आमाहरू पनि हुनुहुन्छ, हामी यतै म¥यौं भने कसले जिम्मेवारी लिने– नेपाल सरकारले कि कुवेत सरकारले ?’
आफूहरूले बाध्यताका कारण रोजगारदाता परिवर्तन गर्नुपरेको भन्दै उनीहरूले परिवारसँग भेट्ने वातावरण छिटो मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । उनीहरूले भनेका छन्, ‘छोराछोरी हामीजस्तो अनपढ नहोऊन्, दुई चार अक्षर सिक्न पाऊन् भनेर यहाँ आयौं, दुःख पर्दा सरकारले नहेरे कसले हेर्छ ?’
तीन हजारको बिजोग
अहिले कुवेतमा करिब तीन हजार नेपाली यसैगरी क्वारेन्टाइनमा बसेका छन् । गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू घर फर्किने ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थल (क्वारेन्टाइन)मा पुगेका हुन् । कुवेत सरकारले आममाफी दिएका कामदारहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ । कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएका थिए ।
पासपोर्ट हुनेहरू सिधै आश्रयस्थलमा जानसक्ने व्यवस्था भएकाले त्यहाँ कति नेपाली छन् भन्ने यकिन छैन । भिसा अवधि सकिएका, रोजगारदाता परिवर्तन गरेर अवैध हैसियतमा बसेका सबैले आममाफी पाएका छन् । उनीहरूलाई आफ्नै जहाजमा काठमाडौं एयरपोर्ट ल्याइदिन तयार रहेको कुवेत सरकारले जनाएको छ । यता नेपालले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध हटाएको छैन । त्यसैले उनीहरू नेपाल सरकारको अनुमति कुरिरहेका छन् । उनीहरूले क्याम्प पनि जेलजस्तै भएको भन्दै छिटो नेपाल फर्काउन सरकारलाई आग्रह गरेका छन् ।
कुवेतका आश्रयस्थलहरूमा बच्चासहितका नेपाली महिलाहरू पनि छन् । तीमध्येकी एक महिला महिना दिन पनि नपुगेको शिशु च्यापेर आश्रयस्थल पुगेकी छन् । कुवेतमा गत मे ३ सम्म ८४ नेपाली कोरोना संक्रमित देखिएकाले आश्रयस्थलहरूमा संक्रमण फैलिने डर पनि छ । नेपाल सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन तयारी सुरु भएको त भनिरहेको छ । तर, उनीहरूलाई व्यवस्थापन गर्ने मोडालिटी तय नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।