टी-२० विश्वकप: बंगलादेश दक्षिण अफ्रिकासँग पराजित



आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ। सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका लगातार तेस्रो पटक विजयी हुने क्रममा बंगलादेशविरूद्ध ४ रनको रोमाञ्चक जित निकालेको हो।

दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

महमुदउल्लाहले २७ बलमा २ चौका प्रहार गरी २० रन जोडे। कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा १ छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कगिशो रबाडा र एनरिच नोर्त्जेले २/२ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ११३ रन बनाएको थियो।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार