मकवानपुरको मनहरीमा पुल निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदार, नदीजन्य पदार्थको राजश्व मिनाहा, पाडापाडी वितरणमा अनियमितता र निर्माणाधिन मनहरी अस्पतालमा कमसल सामाग्रीको प्रयोग हुँदापनि नदेख्ने गाउँपालिकाका अध्यक्षको फोटो व्यानर बनाएर पाँच दलले बिरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकिकृत समाजवादी पार्टीले मनहरीमा पुल कहिले बन्छ? ढिलासुस्ती कैलेसम्म ? प्रश्न गर्दै विरोध प्रदर्शन गरेकाहुन् ।
मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेशसभाका सदस्य इन्द्र बहादुर बानियाँ सहितका फोटोहरु व्यानरमा राखेर प्रर्दशन गरिएको हो । ब्यानरमा लेखिएको छ’ ‘माननीय ठेकेदार इन्द्र बहादुर बानियाँ ज्यू यो पुल कहिले बन्छ’ । काँग्रेस बागमती प्रदेश समितिका सभापति तथा मकवानपुर क्षेत्र नं २ को क प्रदेश क्षेत्रका सांसद रहेका बानियाँको निर्माण कम्पनिले मनहरीको पक्की पुल निर्माण गर्ने ठेक्का पाएको थियो ।
बानियाँसँगै अर्का ठेकेदारहरु शिव चौलागाईँ र मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको तस्वीर समेत कालो ब्यानरमा फोटो उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष कालाखेतीलाई भने निजी सवारी साधनमा सरकारी ढुकुटी खर्च गर्न पाइन्छ ? भन्दै प्रश्न गरिएको छ ।
पुल निर्माण गर्नका लागि ठेक्का लिएपनि काममा धेरै ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै पाँच दलले बिरोधको नयाँ शैली अनुसार व्यानरमा फोटो रोखेर प्रर्दशन गरेका हुन् । काम सम्पन्न नगरी अलपत्र पारेको निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरेका हुन् ।