नेफ्स्कूनको अध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका ढकाल विजयी



काठमाडौँ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लि (नेफ्स्कून) को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी परितोष पौड्याललाई १७७ मतान्तरले पछि पार्दै ढकालले बाजी मारेका हुन् ।

अध्यक्ष ढकालले १११६ मत प्राप्त गरेका छन् । ढकालका प्रतिस्पर्धी पौडेलले कूल १०१९ मत प्राप्त गरेका छन् । विजयी ढकाल सत्ता गठबन्धनका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् भने पराजित पौड्याल नेकपा एमालेका तर्फबाट चुनावी प्रतिस्पर्धामा थिए । पौड्यालको पराजयसँगै नेफ्स्कूनमा सत्ता गठबन्धनको जित भएको छ ।

विजयी ढकाललाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी लगायतको समर्थन रहेको थियो । नेफ्स्कूनको निर्वाचनमा कूल २६३३ मतमा २२४९ मत खसेको थियो । विद्युतीय माध्यममा भएको भोटिङमार्फत संघको अध्यक्षको टुंगो लागेको हो ।

यस्तै उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष सहित सञ्चालक समिति र लेखा समितिको मत परिणाम आउन बाँकी रहेको निर्वाचन उपसमितिले जनाएको छ । निर्वाचनले १९ सदस्य सञ्चालक समितिसहित ३ जना लेखा समिति चयन गर्नेछ । निर्वाचित सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार