राहत शिक्षकलाई दुबै हातमा लड्डु : परीक्षामा भाग लिन पाउने, उमेरहद नलाग्ने, फेल भए आर्थिक सुविधा



करिब ४६ हजार राहत शिक्षक शिक्षक सेवा आयोगले लिने परीक्षामा भाग लिन पाउने भएका छन् ।

शिक्षा मन्त्रालयले संसदमा दर्ता गरेको विधेयकमा भनिएको छ, ‘राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकलाई यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवा आयोगबाट सञ्चालन हुने परीक्षामा भाग लिन उमेरहद लाग्ने छैन ।’

कूल दरबन्दीका ५० प्रतिशत सिटमा यो ऐन प्रारम्भ हुँदाका बखत राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकहरूमध्येबाट सीमित प्रतिस्पर्धाका आधारमा र बाँकी पचास प्रतिशत सिटमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिई आयोगको सिफारिसमा पदपूर्ति गरिने विधेयकमा भनिएको छ ।

राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटाका लागि छुट्याइएको पचास प्रतिशत सिटमा सो वर्षको विज्ञापनमा पदपूर्ति हुन नसकेमा अर्को वर्ष खुला प्रतियोगिताको आधारमा हुने विज्ञापनबाट बाँकी सिटमा पूर्ति गरिने प्रस्ताव मन्त्रालयले गरेको छ ।

‘प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षकले गरेको सेवा अवधिको आधारमा सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्नेछ,’ विधेयकमा भनिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार