माछा मार्नेले फेला पारेका थिए वेपत्ता मेजर पण्डितकाे शव



डोल्पा । १६ दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरी नदीमा शव फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ करबगाडस्थित चिन्ढेबगर नजिक भेरी नदीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।

भेरी नदीमा माछा मार्न जालखेल्दै जानेक्रममा विहान ६ बजेतीर त्रिपुरासुन्दरी ५ का परिमल भनिने शिबमल सार्कीले चिण्ढेबगरस्थित भेरीनदीको किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए । दुई ओटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायँ हातको कान्छी औलामा औँठी देखेपछि आफुले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेर चौकीमा पुगेर खवर गरेको सार्कीले बताए ।

सार्कीले खवर गर्ने वित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खवर गरे लगत्तै प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीको टाेली उद्धार सामाग्रीसहित घटनास्थल गएकाे हाे ।

घटनास्थलमा नेपाली सेनाका मेजर रवि शाहको टोली पनि शव भेटीएकाे चिण्ढेबगरमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख बुढाथोकीकाअनुसार नदीको किनारमा ढुङ्गाको खोचमा रहेको शव बाहिर निकालेकाे छ । मेजर पण्डितले लगाएकाे घडी र औंठीबाट शव बेपत्ता मेजरको भएको सेनाका साथीहरूले भन्नु भएकाे प्रमुख बुढाथाेकीले बताए ।

शव भेटिएकाे ठाउँमा मेजर पण्डितका दाजु किरण पण्डितले घडी र औँठीकै आधारमा पहिचान गरेकाे प्रहरीकाे भनाइ छ । पण्डितकाे शव पानीका कारण अनुहार चिन्न नसकिने अवस्थाकाे छ ।

शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा लगिएकाले पण्डितका बुवा किरण पनि अस्पताल पुगेका छन् । काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेबाट बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार