६ जिल्लाका सिडिओ फेरिए, अध्यागमनको डिजीमा तामाङ



गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रूद्रसिंह तामाङको सरूवा गरेको छ। यसअघिका महानिर्देशक झलकराम अधिकारीको मन्त्रालयमा सरूवा भएको थियो।

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरूवा भएको छ। सुबेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाइएको छ।

उता दैलेखका सिडिओ गोगनबहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको रूपमा सरूवा गरिएको छ।

रूपन्देहीका सिडिओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालयमा सरूवा गरेको हो। गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रूपन्देहीको सिडिओमा सरूवा गरिएको छ। त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सिडिओमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

महोत्तरीका सिडिओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा तानिएको छ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरूवा गरी बागलुङका सिडिओ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओ बनाइएको छ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार