
कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्य सोमबार राति मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन् । लकडाउनको बेवास्ता गरी टीकापुरको विजयनगर शिविरस्थित कर्ण चौधरीको पसलबाट मदिरा सेवन गरी फर्किने क्रममा नालीमा खसेर दुर्घटनामा परेका वडाध्यक्ष आचार्यको बाँया करङ्ग भाँच्चिएको छ ।
श्रोतका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश बुढाथोकीसँगै मदिरा पिउन बसेका उनीहरुबिच लकडाउनका कारण प्रभावित अति विपन्न वर्गलाई वितरण गरिएको राहतका विषयमा विवाद भएपछि भनाभन पनि भएको थियो । उनीहरूबिच विवाद चर्किन थालेपछि वडाध्यक्ष बुढाथोकीलाई एक समूहले घरतर्फ लगाएको थियो । होटल सञ्चालक चौधरी स्थानीय मुखिया समेत हुन् । चौधरीकी श्रीमतीले जनाए अनुसार वडाध्यक्ष आचार्यको टोलीले पाँच लिटरको एक जर्किन मौवाको रक्सीसहित एक बोत्तल रक्सी पनि सिध्याएका बताइएको छ ।
वडाध्यक्ष घर आउने क्रममा नालीमा खसेपछि सामुदायिक वनसँग संलग्न राजीपुरकै एक स्थानीयले उनलाई उद्धार गरेको बताइएको छ । लकडाउनका बखत मदिरा सेवन गरेर वडाध्यक्ष दुर्घटनामा परी करङ्ग भाँच्चिएको घटनालाई ढाकछोप गर्न खोजिएको छ । वडाध्यक्ष आचार्यको अहिले कैलालीकै लम्किस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।