बागमतीकाे लाेकप्रीय निर्णय : शिक्षकहरूकाे तलब मासिकरुपमा सिधै व्यक्तिगत खातामा भुक्तानी



ललितपुर | बागमती गाउँपालिकामा शिक्षक कर्मचारीकाे तलब मासिक भुक्तानी सुरु भएको छ । वर्षाैँ देखि तलब चाैमासिक भुक्तानी लिँदै आएका शिक्षक कर्मचारी मासिक भुक्तानी पाएसँगै खुसी देखिएका छन । मासिक भुक्तानीकाे लागि लेखाअधिकृत अरुण तोयामि राई र शिक्षा शाखाका कर्मचारी अमृत थापा मगरले पहल गरेका हुन । बागमती गाउँपालिका भित्रका ४७ वटा विद्यालयका ३ सय शिक्षक कर्मचारी, बालबिकास सहजकर्ताकाे तलब मासिक भुक्तानी हुने भएको हाे । मासिक भुक्तानी हुने तलब सिधै व्यक्तिगत खातामा जम्मा हुन थालेपछि शिक्षक, कर्मचारी खुसी देखिन्छन् । “पालिकाले लकडाउनको समयमा पनि नियमितरुपमा तलब हाम्रो खातामा हालेकोमा हामीहरु निकै खुसि छाैँ ” भेट्टेडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक सिताराम चाैरेल भन्छन् ।

बागमती गाउँपालिकाका अध्यक्ष बिरबाहादुर लोप्चन भन्छन् “हामी शिक्षककाे तलब मासिक रुपमा खुवाउने यो उपत्यकाभित्रकाे त पहिलो नै स्थानीय तह होला देशै भरि पनि २/४ वटा स्थानीय तहमा मात्रै मासिक भुक्तानी हुँदै आएको छ । ” मेहनतका साथ खटिएका शिक्षक कर्मचारीलाई समयमै तलब भुक्तानी गर्दा उहाँहरूकाे मनाेबल पनि उच्च हुन्छ र समयमै तलब पाउँदा आर्थिक रुपमा पनि सहज हुने भएकोले पालिकाले मासिक भुक्तानीमा जाेड दिएको अध्यक्ष लाेप्चनकाे तर्क छ । सिधै व्यक्तिकाे खातामा रकम पठाउँदा पारदर्शी पनि हुने भएकाले सबैको तलब व्यक्तिगत खातामा हाल्ने गरिएको लाेप्चनकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार