
काठमाडौं । कडाउनका कारण दैनिक ३ लाख लिटर दूध खेर गएर दैनिक डेढ करोड रूपैयाँको नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन् । सोमबार संघीय संसद्को अर्थसमितिको बैठकमा सहकारी अगुवाहरूले उत्पादन बिक्री नहुँदा निकै समस्या भएको बताएका छन् । कोराना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण सहकारी क्षेत्र निकै प्रभावित भएको राष्ट्रिय सहकारी महासंघ नेपालले जनाएको छ । बन्दाबन्दी खुलेपछि पनि तरलताको अभावले अधिकांश सहकारी समस्यामा पर्ने महसंघको दाबी छ ।
महासंघले अर्थ, कृषि र भूमिसुधार मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ । संसदीय समितिको बैठकमा महासंघले आफूहरूका समस्याबारे ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष मीनराज कँडेलले बताए । उनले भने, ‘मुख्यगरी कृषि तथा बचत सहकारी मारमा परेका छन्, उत्पादन बिक्री भएको छैन । बैङ्कको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा सदस्यहरू पुगेका छन् ।’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।