दार्चुला सदरमुकाम खलंगादेखि छाङरु हुँदै तिंकर भन्‍ज्याङसम्म सडक बनाइने !



काठमाडौँ, ३० वैशाख । सरकारले दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्‍ज्याङसम्मको १ सय ३४ किलोमिटर लामो ‘रणनीतिक सडक’ निर्माणको जिम्मा नेपाली सेना र सडक विभागलाई दिएको छ । दार्चुलाबाट चीनको व्यापारिक स्थल ताक्लाकोट बजारसम्म पहुँच पुर्‍याउन सरकारले उक्त सडक निर्माणको काम सेना र सडक विभागलाई जिम्मा दिएको हो ।

भारत र चीनसँग सीमा जोडिएका क्षेत्रको अवस्था र भावी रणनीति तय गर्न गठित समितिको सुझावका आधारमा खलंगा–तिंकर भञ्ज्याङसम्मको सडक निर्माण गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । वैशाख १४ को मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संयुक्त रूपमा सडक निर्माणसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रममै यो सडकलाई रणनीतिक सडकका रूपमा राख्नेगरी निर्णय भएको हो । जेठ १५ मा सार्वजनिक गरिने नीति तथा कार्यक्रममा समेटेर यो योजनामा बजेट भाषणमार्फत आवश्यक रकम विनियोजन गरिने रक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सदरमुकाम खलंगाबाट व्यास गाउँपालिका–१, छाङरुसम्मको ४७ किमि सडक विभाग र छाङरुदेखि तिंकर भञ्ज्याङसम्मको ८७ किमि सडकको ट्रयाक खन्न नेपाली सेनालाई जिम्मा दिइएको छ । हाल छाङरुबाट तिंकरसम्म जान गोरेटो बाटो मात्रै छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर एकतर्फी सडक खनेपछि छाङरु–तिंकर गोरेटो बाटोको धेरै खण्ड पनि पुरिएको छ । याे खबर कान्तिपुर दैनिकमा छ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार