
ललितपुर | बागमती गाउँपालिकाका जनप्रतिनिधिले बैशाख महिनाको सबै सेवा सुविधा बापतको रकम पालिकाकाे विपद् व्यवस्थापन काेषमा जम्मा गरेका छन । सातै वडाका ३८ जनप्रतिनिधिको वैशाख महिनाको ४ लाख ६४ हजार ५ सय रकम कोषमा जम्मा भएको छ । त्यस्तै पालिकाका कर्मचारीले पनि काेषमा रकम जम्मा गरेका छन । कर्मचारीको तर्फबाट १ लाख ४३ हजार ५ सय ५९ रुपैयाँ उक्त कोषमा जम्मा भएको छ । काेराेना रोकथामको लागि बागमती गाउँपालिकाले खोलेको खातामा यसअघि शिक्षकहरुले पनि ६ लाख ५२ हजार जम्मा गरिसकेका छन ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले १ महिनाको तलब काेषमा जम्मा गरेका छन भने वडा नम्बर ३ का वडाध्यक्ष बिण्णु प्रसाद तिमल्सिनाले १ लाख रुपैयाँ जम्मा गरेका छन । आज बसेको बागमती गाउँपालिका गाउँ कार्यपालिकाकाे बोर्ड बैठकले पालिका अध्यक्ष , उपाध्यक्ष , वडाध्यक्ष ,वडा सदस्य , बाेर्ड सदस्य गरि ३८ जनाले पाउने बैशाख महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय गरेकाे हाे ।
यसैगरी गाउँपालिकाका स्थायी कर्मचारीबाट ७५ हजार ३ सय ७७ र करार कर्मचारीबाट ६२ हजार १ सय ८४ काेषमा जम्मा भएको छ भने गाउँपालिकाकाे रोजगार संयोजक देबकि आचार्यबाट ५ हजार ९ सय ९८ रुपैयाँ व्यवस्थापन कोषमा जम्मा भएकाे छ । पालिकाकाे विपद व्यवस्थापन काेषमा यसअघि विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गरिसकेका छन । काेषमा रकम जम्मा गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले उक्त रकम पालिका भित्रका विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री लगायतमा पारदर्शी हिसाबले खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।