जातीय विद्वेष फैलिए देशको अस्तित्व समाप्त हुन्छ : ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा विद्वेष फैलिए देशको अस्तित्व समाप्त हुने बताएका छन् ।

बिहीबार २९औँ विश्व आदिवासी दिवसका अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालीका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका हुन् । उनले नेपालमा जातीय विविधता रहेको भन्दै सामाजिक सद्‌भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए ।

अध्यक्ष ओलीले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताए । उनले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्न नहुने बताए । अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्‌भावका लागि भएको बताए । पहिचानको मुद्दा आपसी मित्रता बढाउन र प्रेम फैलाउनका लागि भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएकाले देशलाई धर्म निरपेक्ष बनाइएको बताए । उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरूका नाम पनि साझा भूगोल, संस्कृति र नदीनालाका नामबाट राखिएको बताए । उनले प्रदेशहरूको नामकरण साझा रूपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने बताए ।

अध्यक्ष ओलीले अन्य देशको तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । एमालेले स्थापनाकालदेखि नै सामाजिक न्याय र समानताका लागि कुरा उठाएको बताउँदै अध्यक्ष ओलीले आफूहरू सबैलाई अधिकारसम्पन्न बनाउने पक्षमा रहेको बताए ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार