सधैँ विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुन्छ : नेता नेपाल



काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा सँधैभरि विवाद गर्नुभन्दा कन्ट्रोल गर्नु राम्रो हुने र त्यसका लागि काँडेतार वा पर्खाल खडा गर्नु नै उपयुक्त हुने बताउनुभएको हो । उहाँले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जहाँ पनि समस्या पाइराखेको छ । सीमा मिच्ने काम भइराखेको छ । पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ । बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ । त्यसपछि हुँदाहुँदा त सुरक्षा फौजको तैनाथी र बाटो निर्माण गर्ने कामसम्म पनि भयो । त्यसैले नियमन गर्ने काममा ध्यान दिनुप¥यो । नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ । अझ सीमा पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा जानै पर्ने भो । सधैँभरि विवाद गर्नुभन्दा त क्लियर गरिदिनु राम्रो हो ।’

नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताउनुभएको छ । नक्सामा विवाद हुँदा अनावश्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्न भएको भन्दै समस्या समाधानका लागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने बताउनुभयो ।

यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमा समेत नेपालको नक्सा प्रकाशित गर्ने विषयमा विवाद भएको उल्लेख गर्दै विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले सीमा र नागरिकको रक्षाका लागि सुरक्षा संयन्त्र स्थापना गर्न र विकट क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुको लागि उचित प्रबन्ध गर्नुपर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आफ्नो सम्पूर्ण भूभागसहितको आधिकारिक नक्सा प्रकाशित गर्ने कुरामा ढिलाइ गर्न भएन् र आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्ने र सीमाको नियमितरुपमा नियमन गर्नुपर्‍यो र विकट सीमा क्षेत्रहरुमा कार्यगत सुरक्षाकर्मीहरुको लागि उचित प्रबन्ध गर्नुपर्‍यो ।’

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार