सीमाबारे जथाभावी नबोल्न मन्त्री अर्याललाई माधव नेपालको चेतावनी !



काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको बताएका छन् । उनले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सचेत गराउँदै माफी माग्न समेत सुझाव दिएका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भने, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्यो ।’

उनले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह पनि गरे । नेता नेपालले आवश्यक परे सिमानामा काडेतार लगाउन समेत जोड दिएका छन् । ‘भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं । पार्टीको विदेश विभागले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । उच्च तहमा यसबारे छलफल गर्नुपर्यो । आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा प्रकाशन गर्न ढिला गर्नु भएन । सिमानामा नियमित अनुगमन गर्नुपर्यो । सुरक्षाकर्मीलाई के के सामग्री चाहिन्छ त्यो पनि ब्यवस्था गर्नुपर्यो’, नेता नेपालले भने ।

नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिँदै कोरोनका त्रासका बीच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको बताए । भारतले पिलर सार्ने, सीमा मिच्ने, सुरक्षाकर्मीको क्याम्प राख्ने जस्ता काम गरेकोले अब काडेतार लगाउनेबारे अघि बढ्नुपर्ने उनको जोड छ । उनले सानो छिमेकी देशप्रति भारतको दृष्टिकोण नै ठीक छैन कि भन्ने देखिएको भन्दै भारतले गरेको सीमा अतिक्रमणले नेपाल भारत बीच भएको सम्झौता उल्लंघन भएको बताए ।

उनले भने, ‘भारतले नेपाली भूमिमा सडक बनाउने कामले नेपाली स्वाधिनतामाथि प्रहार भएको छ । तथ्यको आधारमा विवादबारे बसेर छलफल गर्न सकिन्छ । विवादित ठाउँमा भारतले किन विवादित काम गर्नुपर्यो । नेपालको पश्चिम सिमाना लिम्पियाधुरासम्म पर्दछ । त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरु छन् । हामीसँग थुप्रै नक्सा र दस्तावेजहरु छन् । यस्ता तथ्य प्रमाणले नेपालको सिमाना कालीनदी र त्यसको उद्गम लिम्पियाधुरा हो । नेपालले त्यो भूमिमा दावा छोडेको छैन । भारतको कदमले मित्रराष्ट्र बीच अविश्वास बढाएको छ । उनले कोरोना भाइरसको कारण देखाएर भारतसँग कुरा गर्न कुरा गर्न छोड्नु नहुनेमा जोड दिए ।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार