अब पास भएका सवारीलाई पनि ‘टाइम कार्ड’, बिनाप्रयोजन हिँडे पास नै जफत



काठमाडौं, २८ वैशाख । सरकारले काठमाडौं उपत्यकामा सवारी साधन चलाउन पासका साथै टाइम कार्ड लागू गरेको छ । यसअघि पासका आधारमा मात्र सवारी सञ्चालन गर्न पाइएकामा अब भने टाइम कार्डअनुसार सवारी चलाउनुपर्ने भएको छ । सरकारले काठमाडौं उपत्यकामा कुन क्षेत्रका लागि कुन समयमा सवारी चलाउन पाउने भनेर समय विभाजन गरेको छ । अबदेखि काठमाडौं उपत्यकामा पास भएका सवारीले पनि टाइम कार्डअनुसार मात्र सवारी चलाउन पाउनेछन् ।

उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी प्रमुख, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायको शुक्रबार बसेको बैठकले उपत्यकामा टाइम कार्डका आधारमा सवारी सञ्चालन गर्न दिने निर्णय गरेको हो । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले कोरोनाको संक्रमण नफैलियोस् भनेर सजकता अपनाउन भीडभाड कम गर्ने उद्देश्यले टाइम कार्ड प्रयोगमा ल्याइएको जानकारी दिए । उनले आइतबारदेखि जसलाई जुन समय छुट्याइएको छ, त्यहीँ समयमा मात्र सवारी चलाउने पाउने बताए ।

औषधि, खानेपानी बोकेका सवारी साधनका लागि भने जुनसुकै समय खुला गरिएको छ । एसएसपी ढकालका अनुसार आइतबारदेखि सरकारी कार्यालयका कर्मचारी बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्ने छ । याे खबर राजधानी दैनिकमा छ।

प्रकाशित मिति : २०७७ बैशाख २८ गते आइतवार