शैक्षिक प्रणाली परिवर्तन गरेर विद्यालयलाइ सिकाई केन्द्रकाे रुपमा विकास गराैँ !



हालसम्म नेपालमा एकै किसिमको शैक्षिक प्रणालीकाे उपयोग भएको पाइन्छ । जबसम्म नयाँ शैक्षिक प्रणालीको विकास हुँदैन तबसम्म शिक्षाको सामाजिक रुपान्तरण सम्भव देखिँदैन । नेपाली भुगाेल सुहाउँदो शैक्षिक प्रणाली नभएको कारण नै आज शिक्षित जनशक्ति समेत विदेश उड्नुपर्ने अवस्था छ । शैक्षिक ज्ञान हासिल हुन्छ तर न हातमा सीप हुन्छ न ज्ञानको उपयोग । यसरी पुरानै ढर्राकाे शैक्षिक प्रणालीले न समाजको रुपान्तरण सम्भव देखिन्छ न नयाँ शैक्षिक प्रणालीको विकास नै हुन्छ । हाम्रा विद्यालयहरू पाठ्यक्रम केन्द्रित मात्रै छन । तिनले न हाम्रो समुदायको मुहार फेर्ने शिक्षा दिनसक्छ न सीप नै । हाम्रो माैलिक शिक्षा प्रणालीको विकास र सामाजिक धरातल अनुसारको शिक्षा दिए मात्रै समाजको रुपान्तरण सम्भव देखिन्छ ।

आजको वैज्ञानिक युगमा शिक्षा प्रविधि मैत्री र सिपमुलक हुन आवश्यक छ । विद्यालयलाई पढाईकाे केन्द्र मात्र नबनाई सिकाई केन्द्रको रुपमा विकास गर्नको लागि पहिलो भुमिका शिक्षक मित्रहरुलकाे हुन्छ । शिक्षकहरूले पहिले आफुलाइ प्रविधिसँग परिचित बनाउन आवश्यक देखिन्छ । जब शिक्षकहरु प्रविधि मैत्री हुन्छन् तब मात्रै विद्यार्थीले प्रविधि मैत्री शिक्षा पाउन सक्छन् ।

यसका लागि अभिभावक मा जनचेतना, व्यवस्थापन समितिमा जाेस जाँगर, व्यवस्थापकीय ज्ञान र तिनै तहको सरकारको उचित नितिगत निर्णय र सहि अनुगमन हुँदा केही हदसम्म हाम्रो विद्यालय सिकाई केन्द्रकाे रुपमा विकास हुनसक्छ । शिक्षकलाई कस्तो बनाउने वा शिक्षक स्वयंम कस्तो बन्ने भन्नेमा हाम्रो सरोकारवाला निकायले शाेच्न जरुरत छ । समयसमयमा शिक्षकलाई पुनर्ताजगी तालिम र विद्यालयमा यथेष्ट भाैतिक पुर्वाधार भएको खण्डमा सीपमूलक शिक्षा सम्भव देखिन्छ । त्यस्तै शैक्षिक गुणस्तर र शिक्षक व्यवस्थापनको पाटोमा तिनै तहका सरकारले विशेष ध्यान दिने हाे भने हाम्रो विद्यालयहरुलाई सिकाईकाे केन्द्रकाे रुपमा विकास गर्न सकिन्छ । हाम्रो विद्यालय सीप सिक्ने थलाे पनि हाे भन्ने आभास दिन सकियो भने समाजको युगान्तकारी परिवर्तन सम्भव छ । यतिमात्र हैन यसरी सीपमूलक शिक्षाले अहिले बढिरहेको शैक्षिक बेरोजगारकाे समस्या समेत हल हुनसक्छ ।

यसका लागि सामुदायिक विद्यालयकाे गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने हुन्छ । शिक्षक , अभिभावक र व्यवस्थापन समितिले उचित जिम्मेवारी पूरा गर्न सकियो भने पनि केही हदसम्म शैक्षिक गुणस्तर कायम हुनसक्छ ।

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार