७७ हजार तलब,आठ महीनामै बैंक खातामा ८५ लाख जम्मा



चालु आर्थिक बर्षको तलबमान अनुसार सचिव तहका कर्मचारीहरुको तलब ७२ हजार ८२ । त्यसमा ग्रेडसहित जोडेर बुझ्ने तलब भनेको झण्डै ७७ हजार हाराहारी हुन आउँछ ।

मासिक ७७ हजार हाराहारी तलब बुझ्ने एक सचिवको खातामा अस्वभाविक रुपमा रकम जम्मा भएको भेटिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर अहिले प्रहरी हिरासतमा रहेका टेक नारायण पाण्डेका वैक खातामा यस्तो कारोवार भएको भेटिएको हो ।

एभेरेष्ट बैंकमा रहेको निजी खाता नं ००१००१०५००००१८ र हिमालयन बैंकमा रहेको खाता नम्बर ०२७०४६७२४७००१८ मा पछिल्ला आठ महिनामै ८४ लाख रकम जम्मा गराइएको भेटिएको छ । २०७८ मंसीर २ गतेदेखि २०७९ जेठ २३ गतेसम्म आठ महीनाको अवधिमा ८४ लाख ९४ हजार रुपैयाँ जम्मा भएको पाइएको छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा सामेल पाण्डेको ब्यांक खातामा २०७८ मंसीर २ गतेदेखि २०७९ जेठ २३ गतेसम्म आठ महीनाको अवधिमा ८४ लाख ९४ हजार रुपैयाँ जम्मा भएको पाइएको छ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा गर्न खोलिएको खातामा पाण्डेले उक्त रकम राखेको भेटिएको प्रहरीको अभियोगपत्रमा खुलाइएको छ।

पाण्डे २०७८ साउन २७ देखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। सोही अवधिमा पाण्डेले भुटानी शरणार्थी सम्बन्धी समस्या समाधान गर्न बालकृष्ण पन्थीको संयोजकत्वमा बनेको कार्यदलको मूल प्रतिवेदन साटफेर गरेको आरोप छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग १ करोड २४ लाख नगदै लिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार