
नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको काण्डमा मुछिएपछि अदालतले पक्राउ पूर्जी जारी गरी प्रहरीले खोजी गरिरहेका नेकपा एमालेका सचिव टोबहादुर रायमाझी अहिले मोबाइल अफ गरेर फरार छन् ।
बुधबार अर्घाखाँचीबाट काठमाडौं जान भन्दै हिँडेका रायमाझी राति ९ बजेपछि सम्पर्कविहीन बनेका थिए । उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ । राति ९ बजे भैरहवाबाट काठमाडौं जाने टिकट काटेका टोपबहादुरलाई भने प्रहरीकै संलग्नतामा भगाइएको बुझिएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी सुरक्षा घेरामै हुने गर्छन् । त्यसमाथि बुधबार सभामुख देवराज घिमिरेसँगै रहेका उनी अर्घाखाँचीबाट त हिँडे तर विमानस्थल पुगेनन् । मोबाइल स्विच अफ गरेर फरार भएका उनले अहिले विभिन्न नेताहरूलाई हारगुहार गरेको खुलेको छ ।
एकातिर अरबौं रकम अर्कातिर मानव तस्करी जस्तो गम्भीर अपराधमा फसेपछि उनले यो काण्डलाई मिलाइदिन माओवादीका केही नेताहरूलाई सम्पर्क गरेको बुझिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन नउठाएपछि रायमाझीले माओवादीकै अन्य नेतामार्फत अध्यक्षसँग कुरा गरिदिन अनुनय विनय गरिरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने यो विषयमा वास्ता गरेका छैनन्। रायमाझीले माओवादीका एक पदाधिकारीलाई फोन गरेर प्रचण्डसमक्ष कुरा गरिदिन आग्रह गरेको कुरा पार्टी वृत्तमा चर्चाको विषय बनेको छ । रायमाझीले बरु आफु माओवादीमै फर्केर सहयोग गर्न तयार भएको भन्दै आफुलाई बचाइदिन आग्रह गरेको बुझिएको छ ।