नेकपा (माले)काे स्थायी कमिटी बैठक सम्पन्न, विदेशमा अलपत्र नेपालीकाे उद्धार गर्न माग !



काठमाडौं | नेकपा (मालेकाे) स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा (माले)का महासचिव सिपी मैनालीको अध्यक्ष्यतामा आज सम्पन्न अनलाइन बैठकले गरेका निर्णय मालेले सार्वजनिक गरेको छ । बैठकले पछिल्लो समय काेराेनाका कारण प्रवासमा रहेका नेपालीहरु समस्यामा परेको भन्दै भारत लगायतका देशमा समस्यामा परेका नेपालीलाई अविलम्ब नेपाल ल्याउन माग गरेको छ । खुल्ला सिमाना र धार्मिक गतिविधि माथि निगरानी गर्दै अनियमितता र भ्रष्टाचारमा संलग्नहरुलाई अविलम्ब कानुनी कारबाही गर्न समेत माग गरिएको छ । यस्तै काेराेना परिक्षण गर्न आवश्यक सामग्री अभाव भएको प्रति सरकारकाे ध्यानाकर्षण गराउँदै तत्काल कीट लगायतका सामग्री ल्याउन समेत बैठकले माग गरेको छ। यस्तै नेपाली किसानले उत्पादन गरेको कृषि उपजकाे बजारीकरण गरि किसानलाई प्राेत्साहन गर्न समेत बैठकले माग गरेको छ ।

यस्तो छ विज्ञप्ति
स्थायी कमिटीको बैठक सम्पन्न

आज २०७७ बैशाख २४ गते नेकपा (माले) को स्थायी कमिटीको अनलाइन बैठक महासचिव क.सीपी मैनालीको प्राविधिक संयोजन र अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले लिएका केही सामयिक निर्णयहरूलाई यस प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

१. कोरोना भाइरसको संक्रमणलाई रोक्न जारी लकडाउनले गर्दा रोजगारविहीन र विस्थापित भई भारत प्रवासमा गाँस–बास तथा ओखती–मूलोको समस्याले ग्रस्त बन्न पुगेका तर चाहेर पनि स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरूलाई अविलम्ब स्वदेश ल्याउने व्यवस्था मिलाउन यो बैठक नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

२. हाम्रो मुलुकमा कोरोना भाइरसको संक्रमण फैलाउने कार्यमा संलग्न देखिएका निश्चित धार्मिक समुदायका नेपाली तथा विदेशी नागरिकहरू नेपालमा तिनीहरू सम्वन्धित धार्मिक तथा शैक्षिक स्थल र तिनका आसपासका वस्तीमा लुकीछिपी रहने गरेको देखिएकोले देशका त्यस्ता सबै धार्मिक तथा शैक्षिक स्थलहरूमा सरकारले कडाइका साथ अविलम्ब अनुगमन गरोस् त्यस प्रकार रहेका संक्रमितहरूलाई तत्काल खोजी निकाली उपचार प्रकृयामा सामेल गराओस् र नेपाल–भारत खुला सिमानाबाट लुकीछिपी गरिने आवत–जावतलाई कडाइका साथ रोक्ने व्यबस्था गरोस् भनी यो बैठक जोडदार माग गर्दछ ।

३.लकडाउनका कारण रोजीरोटीको प्रत्यक्ष मारमा परेका श्रमजिवीहरू दैनान्दिन समस्यालाई थेग्न नसकी सुरक्षित स्थान खोज्दै भौतारिने र आत्महत्यासम्म गर्न पुग्ने घटनाहरूले सरकारी राहत वितरण कार्यमा भइरहेका कमजोरी तथा अनियमितता र फितलो व्यवस्थापनको पोल खोलेका छन् । लक–डाउनको यो अवधि अनियमितता र भ्रष्टाचारमा लागेका कतिपय जनप्रतिनिधीहरू, कर्मचारी, कालाबजारी र कमिशनखोरहरूको निम्ति जनता लुट्ने आड र माध्यम बनेको कुराप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दै यो बैठक त्यस्ता निकृष्ट धन्धामा लाग्नेहरूलाई अविलम्ब कानुनी कार्वाही गरियोस् भनी जोडदार माग गर्दछ ।

४.कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न विदेशबाट उपचार–सामाग्री खरिद गरिल्याउने कार्यमा भएको ढिलासुस्तीले जनतामा फेरि अनियमितता हुनसक्ने आशंका र स्वास्थ्य सामाग्रीको अभावमा संक्रमण फैलिने डर बढ्न गएको छ । यसबारे सरकारले अविलम्ब सत्यतथ्य जनतासमक्ष ल्याउनुका साथै उपचार सामग्री अविलम्व ल्याई संक्रमणको परीक्षण कार्यलाई व्यापक पारोस् भनी यो बैठक जोडदार माग गर्दछ ।

५.आफुले उत्पादन गरेका ताजा तरकारीहरू लकडाउनको कारण बजारमा लान नपाउँदा किसानहरू गाइबस्तुलाई ख्वाउन वा कुहाउन वाध्य बनेका छन् तर यही अवधिमा सरकारले विदेशबाट नेरू ३ अर्व जतिको बासी तरकारी तथा फलफूल आयात गरेको छ । बैठक यस्तो किसानमारा नीति हटाउँदै सरकारले स्वदेशी कृषि–उत्पादनलाई बजारीकरण गर्न सघाउने र त्यस्ता विदेशी वस्तुको आयातलाई हतोत्साहित गर्ने नीति लेओस् भन्ने माग गर्दछ ।

६. सरकारले वस्तुस्थिति अनुरूप लकडाउनको स्वरूप तय गर्दै उत्पादन कार्यमा, विशेष गरी कृषि उत्पादन कार्यमा लाग्न सकिने वातावरण निर्माण गरोस् र किसानलाई विऊ, मल तथा सिंचाईको अविलम्व ब्यवस्था गरोस् भनी बैठक माग गर्दछ ।

७. देशका सवै ठाउँमा बिजुली तथा वाइफाइ नपुगेको, सवै विद्यार्थीहरूलाई कम्प्युटर वा स्तरीय मोवाइल सेट उपलबध हुननसकेको र तिनको प्रयोग गर्ने प्रविधीको पर्याप्त जानकारी हुन नसकेकोले गर्दा हाल अनलाइनलाई शिक्षाको देशब्यापी माध्यम बनाउनु विद्यार्थीहरु बीच भेदभाव गर्ने अन्यायपूर्ण कार्य हुनेछ । अतः अनलाइन माध्यम बाहेक शिक्षाको प्रत्यक्ष माध्यमका अन्य उपयुक्त विकल्प, जस्तो– रेडियो माध्यमको प्रयोग गर्नेबारे गृहकार्य गरियोस् भनी बैठक सरकारसँग माग गर्दछ ।

८. कोरोना महामारी बिरोधी संघर्षमा नेपाल र नेपाली जनतालाई स्वास्थ्य उपचार सामाग्री प्रदान गरी सघाउने सबैे मित्र राष्ट्रहरू कतार, यूएई र जनवादी गणतन्त्र चीनप्रति नेकपा (माले) कृतज्ञताका साथ हार्दिक धन्यवाद ज्ञापन गर्दछ । धन्यवाद ।

वैशाख २४, २०७७, काठमाडौं ।
सीपी मैनाली,महासचिव, नेकपा (माले)

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार