माग सम्बोधन नभए विद्यालय बन्द गर्ने विद्यालय कर्मचारीको चेतावनी



काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभए विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति जारी गर्दै विद्यालयमा कार्यरत कर्मचारीको माग सम्बोधन नभए विद्यालय बन्द गर्ने चेतावनी दिएको हो।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत शिक्षण सेवाबाहेकका विद्यालय कर्मचारीहरूको हालसम्म पनि न्यून ज्यालादारीमा काम गर्नुपर्ने बाध्यता र पेसागत स्थायित्वप्रति राज्य उदासीन भएको आरोप लगाएको छ।

यसअघि २०७९ भदौ १ गतेदेखि सुरु भएको आन्दोलनलाई सम्बोधन गर्दै भदौ २६ गते सरकारले तलवमान सहितको सम्झौता गरेपनि बजेट विनियोजन नभएको परिषद्ले जनाएको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने, ‘श्रम शोषण गरेर कहिलेसम्म विद्यालयका हामी कर्मचारीलाई काममा लगाउने अब त अति भो अनिश्चितकालीन विद्यालय बन्दको तयारी हुँदैछ।’

परिषद्ले विद्यालयमा कार्यरत ३४ हजार ८५० जनाको प्रत्यक्ष रूपमा प्रतिपरिवार ५ जना सदस्यको हिसाबले पनि १ लाख ७४ हजार २५० जनाको हातमुख जोड्ने जस्तो गम्भीर विषयलाई सरकारले सम्बोधन नगरे विद्यालय बन्द गर्नुको विकल्प नहुने जनाएको छ।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार