‘भ्लगर’ रतन कार्कीलाई खोज्दै जापान प्रहरी ! यस्तो छ घटना



टोकियो, जापान । जापानमा विद्यार्थी भिषामा केहि महिना अघि जापान आएका रतन कार्की सामाजिक संजालमा राखिने ‘भ्लग’ भिडियोका कारण नेपाल र जापानका धेरै नेपालीमाझ परिचित बनेका छन् ।

रमाइला, ठट्यौली अनि व्यक्तिगत दुःख, सुखका अनुभव सहितको प्राय इडिट नगरिएका भिडियो धेरैले रुचाएको पाइन्छ । उनका भिडियो रुचाउनेसँगै उनले प्रयोग गर्ने शब्द र राखिने केही जापानी कानुनले बर्जित गरेका दृश्यहरुका कारण हालकै साताहरुमा आलोचना हुनेक्रम पनि बढेको छ ।

यहि बिचमा अप्रिल ५ तारिख एउटा जानकारी सामाजिक सञ्जालहरुमा भाइरल हुन थालेको छ । त्यो हो उनै ब्लगर रतन कार्कीलाई जापान प्रहरीले खोजि गरिरहेको छ ।

यस बारेमा औपचारिक कुनै जानकारी कतै नभेटिएपनि यो विषयबारेमा पहिलो पटक सामाजिक सञ्जालमा लेख्नुभएका नेपाल आदिवासी जनजाती महासंघ जापानका पूर्व अध्यक्ष संजिव चाम्लिगं राई आफुले यो जानकारी पाएको बताउनुहुन्छ ।

यस्तो छ राईले दिनुभएको जानकारी (टेलिफोन सम्वादमा आधारित )

म नजिकैको कोम्बिनीबाट ब्रस किनेर फुनाबासी स्टेशन तर्फ जाँदै थिएं । ब्रसको खोल फुकालेर स्टेशनको गोमीमा हाल्दै थिएँ । नजिकै रहेको दुईजना सादा पोशाकमा रहेको जापानीले आफुहरु प्रहरी भएको भन्दै परिचयपत्र देखाए र केही सोधपुछ गर्न थाले ।

उनिहरुले केही अवैध सामान बोकेको छ कि भनेर कार्डहरु र जाइर्यिु कार्ड लगायत चेकजाँच गरे । चेकजाँचका क्रममा रेल स्टेशनहरुमा दुर्घटना बढेको, अवैध क्रियाकलापहरु भइरहेको भन्दै विभिन्न आपराधिक घटनाको बारेमा बताए ।

तिमि त जापानमा लामो समय बढिसकेको रहेछौ धेरै कुरा थाहा होला, नयाँ आउने र केही व्यक्तिहरुले नियम उल्लंघन गर्ने गरेकोले चेकजाँच गर्नुपरेको हो, नराम्रो नमान है भने ।

कुराकानीकै क्रममा फोटोकपि पेपरमा प्रिन्ट गरेको फोटो सहितको एउटा कागज उनिहरुले देखाए । जसमा काताकानामा रतन कार्की लेखिएको थियो भने एउटा फोटो पनि त्यसमा प्रिन्ट देखिन्थ्यो ।

उनिहरुले उक्त पेपर देखाउँदै गर्दा जापानमा अनुमति विना अरुको फोटो भिडियोहरु खिच्न पाईंदैन, त्यस्तो गर्नु कानुन विपरित हुने बताए । साथै यो मान्छेले अनुमति विना जापानी महिलाको भिडियो खिचेर युटुवमा राखेको भन्ने जानकारी आएको ति प्रहरीले बताए ।

म सँग कुनै अवैध वस्तु नभएको र चेकजाँच सकिएकाले उनिहरुले अरु नयाँ र थाहा नभएका नेपालीहरुलाई सम्झाउन अनुरोध गरे र म त्यहाँबाट बिदा भएं ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार