
नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो।
सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए। खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताएका थिए।
‘अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय कांग्रेसलाई चाहिन्छ, हामी संसदको सबैभन्दा ठूलो पार्टी हो भनेर भनेका छौं,’ पदाधिकारी बैठकमा भएको कुराकानीबारे एक नेताले भने, ‘८ मन्त्रालयको अडानसहित गठबन्धन बैठकमा छलफल गर्ने कुरा भएको छ।’
प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको ब्रिफिङसमेत कांग्रेस बैठकमा भएको थियो। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारीसमेत गरेको छ।
खड्कालाई उपप्रधानमन्त्रीसहित अर्थ वा रक्षा मन्त्रीको जिम्मेवारी रहने गरी सरकारमा पठाउने तयारी रहेको ती पदाधिकारीले बताए। खड्काले आफू मन्त्री नबन्ने सार्वजनिक रूपमा बताउँदै आएका छन्।