मलेसियामा रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न दूतावासको आग्रह



काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न आग्रह गरेको छ । विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो ।

दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिन्छ । त्यसमा दिइएका सबै विवरणहरु नछुटाएर भर्न र अन्तिममा सबमिट बटनमा थिच्न दूतावासको अनुरोध छ । यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ । जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । यस विवरणले अवैधानिक भएकाहरुको तथ्यांक बुझ्न पनि सहयोग मिल्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार