पतनको बाटोमा रास्वपा, फेरि पनि सत्ताकै दाउ



काठमाडौँ । पुराना राजनीतिक दलहरुको विकृत चरित्रलाई आलोचना गर्दै राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा कुनै नविनता देखिएको छैन । पदीय भागबण्डाप्रति उनिहरुको आकर्षणलाई, निर्वाचनका बेला जनतासामु बाँडेका आश्वासनले गिज्याइरहेको छ । यस्तो कार्यशैलीले उनिहरुको हविगत पनि पुरानै दलहरुको जस्तो देखिएको छ ।

मुलधारका स्थापित राजनीतिक दल र तिनका नेताहरुलाई भ्रष्ट र पदलोलुप भएको आरोप लगाउँदै उदाएको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी । पार्टी स्थापनाको छोटो समयमै चौथो ठुलो शक्तिको रुपमा संसद प्रवेश गरेको रास्वपाले सरकारमा जाने जनमत भने पाएको थिएन । निर्वाचन अघि मुलधारका राजनीतिक दलको कार्यशैलीप्रति कटु आलोचना गर्ने रास्वपा सभापति रवि लामिछाने पछिल्लो समय तिनै दलहरुको फेरो समाउँदै हिडिरहेका छन् ।

संसदमा जनताका मुद्दालाई जोडतोडले उठाउने वाचा गरेका लामिछाने यतिबेला आफ्ना गल्ती, कमजोरीलाई ढाकछोप गर्न सत्ताको छहारीमा लुकिरहेका छन् । सत्तामा रहेका दलहरुको विरोध गरे आफुलाई अप्ठ्यारो पर्ने देखेका रविले पार्टीले प्राप्त गरेको जनमतलाई बार्गेनिङ्को हतियार बनाएका छन् । त्यसैको परिणाम स्वरुप सोमबार रास्वपाले दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ ।

पुराना दलका नेताहरुलाई सत्ता र शक्तिको आशक्तिमा रुमलिएको आरोप लगाउने लामिछाने पुस १० गते हतारिदैँ उपप्रधानसहित गृहमन्त्रालय लिएर सरकारमा सामेल भए । तर, सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहर गरेपछि उनको मन्त्री र सांसद पद पनि गयो । तर रवि फेरि पनि गैरसांसदको हैसियतमा मन्त्री बन्ने दौडमै थिए । तर उनी मन्त्री बन्ने वातावरण नभएपछि आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाए । आफूले मन्त्री नपाएको आक्रोशमा मन्त्रीबाट फिर्ता बोलाए पनि प्रतिपक्षको बेन्चमा पुगेन । मुलतः लामिछानेको राहदानी विवादमा छानबिन सुरु भएपछि रास्वपा सत्ता र प्रचण्डबाट टाढा पुग्न चाहेन । जसकारण फेरि प्रचण्डलाई विश्वासको मत दिनुपर्ने बाध्यात्मक स्थितिमा रास्वपा पुगेको बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बुझाई छ ।

निर्वाचनका बेला जनतालाई पदीय भागबण्डा गौण हुने आश्वासन बाँडेको रास्वपा अन्ततः सोहि पदीय भागबण्डामै रुमलिएको छ । गएको निर्वाचनमा रास्वपाले प्राप्त गरेको मत पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णाको परिणाम थियो । नेपाली राजनीतिमा बैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपाबाट जनताले धेरै आशा र अपेक्षा गरेका थिए । तर पछिल्ला दिनहरुमा रास्वपा र रविले देखाएको ढुलमुले चरित्रले नयाँ भनिएका दलहरुप्रति पनि जनताको बितृष्णा बढिरहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार