काठमाडौँ । चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले संकायको जुम बैठक चलिरहँदा सोही कार्यालयकी महिला कर्मचारीसँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ ।
मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको हो ।सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।
कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी उक्त जुम बैठकमा डीन दत्त कृषि डीन लेखिएको नामले जोडिएका थिए । उनले संवेदनशील विषयमा भइरहेको प्रस्तुतिलाई वेवास्ता गरेर अमर्यादित गतिविधिमा भुलेको भिडियोमा प्रष्ट देखिन्छ । जबकि विश्वविद्यालयकै कृषि संकाय हेर्ने डीन उच्च निकाय हो ।
आफ्नै कार्यकक्षमा पदीय मर्यादा भुलेर कार्यालयकै कर्मचारी महिलालाई प्रलोभनमा पारी रोमान्स गरेको भनी विश्वविद्यालयका महिला कर्मचारीहरुले विरोध गरेका छन् । उनीहरुले आफूहरुसमेत असुरक्षित भएको भन्दै डीन दत्तलाई तत्काल बर्खास्त गर्न अनुरोध गरे पनि विश्वविद्यालय नेतृत्वले भने बेवास्ता गरिरहेको छ ।
उक्त जुम बैठक डीन दत्तले राखेका थिए । डीनले नै व्यवसायिक सिकाइ अनुभव के कसरी गर्ने भनेर सिकाउने ओरेन्टसन कार्यक्रम थियो । त्यहाँ दुई जना शिक्षकबाहेक सबै विद्यार्थी थिए । जुम मिटिङमा सहभागीहरुमध्ये डीन दत्तबाहेक अन्य ६५ जनाकै भिडिओ म्युट थियो ।
उनीहरुको भिडिओ देखिएको छैन ।तर डीनको जुम भिडिओ अन थियो । नेपालप्रेसलाई प्राप्त भिडिओमा मंगलबार भएको सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले जुममा आफना भनाइहरु राखिरहेका थिए । तर, डीन दत्तले भने जुम मिटिङतर्फ ध्यान दिएको देखिँदैन ।
प्राप्त भिडिओ हेर्दा उनी जुम मिटिङ भइराखेको छ भन्नेमा अनविज्ञ देखिन्छन् वा आफैंले जुम मिटिङको भिडिओ अन गरेर बेवास्ता गरेका हुन् । उनले जबरजस्ती महिलालाई तानेर काखमा राख्छन् । महिला टाढिन खोजे पनि डीनले जबरजस्ती तानेर चुम्बन गरेको भिडिओमा देखिन्छ ।
यस्तो छ डीन दत्तको नजीर-२०७७ मा कृषि तथा वन विश्वविद्यालयको रजिष्ट्रार पद र कृषि संकाय, पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायमा डीन रिक्त थियो । २०७७ असोज २२ गते कृषि संकायका डीनको पदका लागि १ नम्बरमा प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, २ नम्बरमा प्रा. डा. अरविन्द श्रीवास्तव,
३ नम्बरमा प्रा. डा. कल्याणी मिश्र त्रिपाठी र ४ नम्बरमा प्रा. जयप्रकाश दत्त, ५ नम्बरमा प्रा. विष्णुराज ओझा, ६ नम्बरमा डा. शिवचन्द्र ढकाल र ७ नम्बरमा डा. सन्तोष मरहट्टाको निवेदन परेको थियो ।तर १, २, ३ नम्बरका प्रोफेसरलाई फालेर चौथो नम्बरमा रहेका प्रा. जयप्रकाश दत्तलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको थियो ।
उनी यसपटक पनि माओवादी भएकै कारण डीन भएको विश्वविद्यालयले स्रोतले बतायो । स्रोतका अनुसार दत्त २०७७ साल कार्तिकमा दोस्रो कार्यकाल डीन नियुक्ति भएका हुन् ।उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न माओवादीकै शीर्ष नेताले पहल गरेका थिए ।
दत्तलाई नियुक्त गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफलसमेत नभएको एक पदाधिकारीले बताए । यसअघि पनि दत्तको महिलालाई कार्यकक्षमै दुर्व्यवहार गर्ने गरेका थिए । तर, प्रशासनले बेवास्ता गर्दै आएको थियो ।यस घटनाको विषयमा बुझ्न हामीले विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीलाई बारम्बार सम्पर्क गर्ने कोसिस गर्याैं ।
तर, उनले आफ्नो मोबाइल नै अफ गरेर सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार डीनको घटना बाहिरिएसँगै उनी मोबाइल अफ गरेर बसेका छन् । यस्तै डीन दत्तले पनि मोबाइल अफ गरेका छन् ।यसअघि सम्पर्क हुँदा रेग्मीले आफू महत्वपूर्ण बैठकमा व्यस्त रहेको भनी कार्यालयमा डीन दत्तले गरेका यौनजन्य क्रियाकलापबारे प्रतिक्रिया दिन इन्कार गरेका थिए ।