दक्षिण कोरियाका २ सय भिक्षु लुम्बिनीमा



दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्किएका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन्। कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरू र तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले लुम्बिनीमा स्वागत गरेको छ।

कोरियाली बौद्ध भिक्षु-भिक्षुणी र तीर्थयात्रीलाई रूपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमान लगायतले लुम्बिनीमा खादा ओढाएर स्वागत गरेका थिए।

उक्त टोलीले मायाँदेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए। पुजा तथा प्राथनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुक पनि सहभागी थिए।

मायाँदेवी मन्दिरभित्र रहेको बुद्धजन्म स्मारक (मार्कर स्टोन) पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायाँदेवी मन्दिर प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै भिक्षु छासुङ्गले प्रवचन दिएका थिए।

लामो यात्रा गरेर लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै प्रतिनिधिसभा सदस्य घिमिरेले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए। उनले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रूपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको बताए।

नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरूलाई बुद्धजन्मस्थल मायाँदेवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए। उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले फागुन महिना गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यहि महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किलोमिटरको दुरी पूरा गरेर दक्षिण कोरियाबाट लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरूका लागि खुशीको क्षण रहेको बताए।

उनले अग्रज भिक्षु सहितको तीर्थयात्रीहरूको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यामिक सम्बन्ध अझै मजबुद बनेको बनाए।

दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीहरूलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो। उक्त टोली भारत स्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरू लुम्बिनी आइपुगेको हो।

टोलीले फेब्रुअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरू गरेको थियो। लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरूबाट बौद्धधर्मगुरू र तीर्थयात्रीहरू आउनेक्रम बढेको छ। लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बौद्ध धर्मगुरू र तीर्थयात्रीहरू आउने क्रम बढ्न थालेपछि कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई उर्जा थपेको बताए।

उनले चिनिया बौद्ध धर्मगुरू र तीर्थयात्रीहरूको समूह पनि लुम्बिनी आउने कार्यक्रम रहेको बताए। कोरियाली बौद्ध धर्मगुरूहरूको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार