राहतमा धनीकाे आश , गरिब निराश



दीपक घिमिरे समीर
हाम्रो देशमा हाम्रो पुस्ताले अनुभव गर्ने गरि ठुला दुईवटा विपत्ति आयो । भुकम्प र कोरोना भाईरस यी दुबै विपत्तिका साक्षी म आफ्नो स्थानिय तहमा सक्रिय रुपमा राहत बितरणमा सहभागी भएको पात्र हुँ । आज यसै बिषयमा केही शब्द लेख्दैछु । राहत शब्द आफैंमा महत्त्वपूर्ण हुन्छ । तर हाम्रो समाजले यसको शाब्दिक अर्थ राम्रोसँग नबुझे जस्तो लाग्छ । भौगोलिक हिसाबले विकट ग्रामीण भेगमा दुई प्रकारका मानिसको बसोबास छ । जहाँ एक समुदाय निकै गरिबीको रेखामुनि छ । जुन समुदायका मानिसहरुलाई एक छाक खान पनि निकै धाैधाै परेको हुन्छ । चाहे भुकम्पमा हाेस चाहे काेराेना महामारीकाे समयमा भएको लकडाउन, दुबैमा यिनिहरुनै मर्कामा परे । दैनिक गुजारा गर्न कठिन हुने यिनै समुदायको मानिसहरुलाइ केहि उच्च आयस्रोत भएका मानिसहरू राहत बाँड्छन र सामाजिक सञ्जालमा प्रचारप्रसार गर्छन् । जब केहि विपत्ति आइपर्छ तब सहयोग गर्न अगाडि सर्नु स्वभावतः ठिकै हाे तर आफुले गरेको सानाे सहयोगकाे पनि धेरै प्रचारप्रसार गर्नु चाहिँ मानवीय हिसाबले सहि हाे जस्तो लाग्दैन । थाेरै अन्नपातले जीवन चलाउन बाध्य समुदायको सहयोगमा स्थानीय सरकारले यसपटक पनि यहि समुदाय लक्षित गरेर राहत वितरण गरे । यसपटक काेराेना महामारीले विश्व नै थला परेको कठिन परिस्थिति थियो र छ । तर स्थानीय तहले वितरण गर्ने राहतलाई केहि मानिसहरूले भुकम्पकाे बेलामा वितरण गरेको राहत नै सम्झेर निवेदन दिए । यसमा दैनिक गुजारा गर्न कठिन नभएकोहरु पनि राहतको लाइनमा बसे जसले दैनिक गुजारा गर्न कठिन परिस्थिति भएकोहरुलाइ असहज भयो । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले राहत वितरणमा महत्त्वपूर्ण भुमिका खेल्दा मात्र वास्तविक मजदुरले राहत प्राप्त गर्न सक्छ ।

समुदायमा रहेका श्रमिक वर्गले आफ्नो श्रममा विश्वास गर्छन् सकेसम्म श्रम बेचेरै खाने उनिहरुकाे चाहना हुन्छ तर कहिलेकाहीँ परिस्थिति यस्तो बनिदिन्छ कि चाहेर पनि श्रम बिक्दैन । हाे त्यस्तै परिस्थितिकाे सामना यसपटक काेराेनाले गरायो । श्रमजीवी वर्गले श्रम बेच्न मात्रै हैन एक पेट खान पनि पाएनन् । त्यहि खानाको लागि टाढा टाढा श्रम बेच्न गएकाहरु समेत हप्तौं हिँडेर आफ्नो गाउँ फर्कनु पर्ने कठिन परिस्थिति बन्यो । फुकाे चिउराकाे भरमा थकित मुद्रामा सयौं किलोमिटर यात्रा तय गरेका मजदुरहरु नै यसपटकको महामारीको मारमा परे । साेहि निम्न आर्थिक हैसियत भएकाहरुकाे सहयोगका लागि वितरण गरिएको राहतमा मध्यम र उच्च घरानाले आश गर्दा थाेरै बजेटमा धेरैलाई राहत वितरण गर्नुपर्ने परिस्थिति समेत सिर्जना हुन पुग्यो यदाकदा ।

केहीले राहतलाई माैकाकाे हिसाबले फाइदा उठाउँदा समाजको अर्को वर्ग झन धेरै मर्कामा पर्छन् भन्ने हेक्का राखेनन । गरिब जनताले मर्कामा परेको बेला सरकारबाट राहतकाे आश गर्नु स्वभावतः ठिकै हाे । सरकारले पनि गरिबकाे चुलो बाल्ने प्रयत्न गरिरहेकाे छ जुन एकदमै उपयुक्त छ । विपत्तिका बेला सबै मिलेर यसको सामना गर्न सकेको खण्डमा यसले समाज र राष्ट्रलाई नै यश विरुद्ध लड्न सहज हुन्छ । एक असल नागरिक हुन समाज र राष्ट्रकाे हितमा काम गर्न सक्नुपर्छ । त्यसको लागि शारीरिक रुपमै श्रम गर्नपर्छ भन्ने छैन यस्तै विपत्तिका बेला हामीले गर्ने सहयोग नै राष्ट्र र समाजको लागि ठूलो याेगदान हुनसक्छ ।

विपत्तिकाे सामना गरिरहेका निम्न आय भएको परिवारलाई सकेको सहयोग गराैँ । सहयोग गरेको प्रचार नखाेजाैँ । समुदायमा सबैकाे याेगदान महत्त्वपूर्ण हुन्छ भन्ने हेक्का मात्रै राख्न सक्यौं भनेपनि हामीले समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन सक्छौँ । सरकारले दिने थाेरै राहतमा र्याल चुहाउन छाडेर आफ्नाे हैसियत अनुसारकाे सामाजिक काममा मन लगाउने हाे भने मात्रै हामीले समृद्ध समाज बनाउन सक्छौँ । सभ्यता हामीले बचाउन सक्यौं र सहयोग अरुलाई गर्न सक्यौं भने मात्रै भाेलिकाे पुस्ताले हामीबाट केही सिक्ने छन नत्र माैकामा चाैका हान्ने प्रवृत्तिले त न हाम्रो समाज रहन्छ न सभ्यता नै जिवित रहन्छ । त्यसैले असामान्य परिस्थिति बुझेर मध्यम वर्गले समाजप्रतिकाे दायित्वबाेध गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार