लकडाउनमा सामुदायिक तथा निजी विद्यालयलाई विद्यार्थी भर्ना नलिन निर्देशन



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी लकडाउन अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् ।

कतिपय निजी क्षेत्रका विद्यालयले अनुमतिबेगर अनलाइनबाट भर्ना लिन थालेको र वैशाख महिनाको समेत शुल्क लिन थालेको गुनासो बढेपछि सरकार तथा निजी विद्यालयका संस्थाहरूले पनि अहिले अनलाइन भर्ना नलिन निर्देश दिएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीका पुरीले कसैलाई पनि अनलाइनमा विद्यार्थी भर्ना लिन नभनिएको बताए । देशभरका प्याब्सन मातहतका विद्यालयले भर्ना नलिने उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार