नेपाली श्रमिक शून्य लागतमा लैजान मलेसिया सकारात्मक, कहिले होला कार्यान्वयन ?



शुक्रबार मलेसियाली गृहमन्त्री दतुक सेरी सैफुद्धिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरे। भेटका क्रममा उनी नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयन गर्न सकारात्मक छन्।

श्रम मन्त्री अर्यालले द्वीपक्षीय श्रम समझदारीको नवीकरण तथा पूर्ण कार्यान्वयन गर्न आग्रह गरे। मलेसियामा कार्यरत नेपालीहरूलाई त्यहाँको सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउन समेत मन्त्री अर्यालले जोड दिए।

छलफलमा मलेसियाली गृहमन्त्री सैफुद्धिनले दुई देशबीच भएको श्रम समझदारी पूर्ण कार्यान्वयनमा ल्याउन प्रतिवद्ध भएको बताए। नेपाल-मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम समझदारीमा हस्ताक्षर भएको थियो।

नेपाली श्रमिकहरू मलेसिया जाँदा लाग्ने सबै प्रकारका शुल्क रोजगारदाताले नै बेहोर्ने समझदारीमा उल्लेख छ। तर उक्त समझदारीपछि पनि नेपाली श्रमिकहरू दुई देखि चार लाख रुपैयाँ प्रतिव्यक्ति बुझाएर मलेसिया जान बाध्य छन्।

यो विषयलाई कार्यान्वयन गर्न नेपाल र मलेसियाबीच पटक पटक छलफल भएको छ। छलफलमा मलेसिया सरकार सकारात्मक देखिए पनि पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। मलेसिया नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक हो। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले पनि मलेसिया नेपाली श्रमिकहरूको पहिलो श्रम गन्तव्य रहेको देखाएको छ।

गत पु्स महिनाको तथ्यांक हेर्दा नेपालबाट ६५ हजारभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। जसमा सबैभन्दा धेरै मलेसियाका लागि २० हजार तीन सय बढीले श्रम स्वीकृति लिएका छन्।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार