मजदुरलाई पर्याप्त राहत दिन पिकाेण्टका अध्यक्ष गिरीको माग !



काठमाडौं | “आठ घण्टा काम, आठ घण्टा मनाेरञ्जन र आठ घण्टा आराम”भन्ने नारा सहित सुरु भएको मजदुर आन्दोलनकाे सम्झनामा शुक्रबार १३१औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो । विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रूपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । यसैबीच प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकाेण्ट)ले मजदुर दिवसको उपलक्ष्यमा सम्पूर्ण मजदुरलाई शुभकामना दिएको छ । मे १ काे अवसरमा एक विज्ञप्ति निकाल्दै पिकाेण्टका अध्यक्ष केदार गिरीले सरकारले मजदुरको मागलाई सम्बाेधन गर्न नसकेको आराेप लगाउनुभएकाे छ । मुलुक लकडाउनले ठप्प भएको अवस्थामा धेरै मजदुर समस्यामा परेको भन्दै उहाँले सरकारले मजदुरलाई राहतकाे नाममा आँखामा छाराे मात्रै हालेको आराेप लगाउनुभएकाे हाे । मजदुरलाई राहत दिनुकाे सट्टा सरकार कुर्सी जाेगाउने खेलमा लागेको भन्दै गिरीले तत्काल मजदुरलाई आवश्यक राहत प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ । विश्व नै काेराेना महामारीले आक्रान्त बनेको समयमा विश्व भरका मजदुर मर्कामा परेको स्मरण गर्दै गिरीले नेपाली मजदुरहरुकाे पक्षमा पिकाेेण्टले निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यसअघि हरेक वर्ष मजदुर दिवसको अवसरमा विविध कार्यक्रम हुने गरेको भए पनि यसपटक भने काेराेना महामारीको कारण देश लकडाउनकाे स्थितिमा रहेकोले कुनै कार्यक्रम हुने छैनन् ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार