गुल्मी | गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बजारमा रहेको एक पसलमा आगलागी भयो । आगलागीबाट सो पसलका सञ्चालक बाग्लुङको बरेङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालका १६ वर्षीय छोरा समीर खनालको घटनास्थलमै ज्यान गयो । छोराको ज्यान गएको ९ दिन पछि आगलागीमा परेर घाइते भएका बाबुले पनि प्राणत्याग गरेका छन् । बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा पूर्ण बहादुर खानालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उक्त आगलागीमा परेर खनाल र उनकी श्रीमती रूपा खनाल घाइते भएका थिए । घाइते दुवै जनाको सोही दिनदेखि नै काठमाडौंमा उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार निधन भएको हो । आगलागीमा परी जलेको घाउ निको हुँदै गए पनि सोही आगलागीबाट घटनास्थलमै छोराको ज्यान गएपछि विक्षिप्त बन्दै गएका खनालको हृदयघातका कारण ज्यान गएको पारिवारिक स्रोतले बताएको छ। लकडाउनका कारण बावु आमा र छोरा गरेर तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर निस्कन नसकेको कारण उनको ज्यान गएको थियो ।
पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३/४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि.कले केटिएम दैनिकलाई बताएका थिए । खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उक्त आगलागीको भिडियो पनि सार्वजनिक भएको थियो । सार्वजनिक भएको भिडियोमा मानिसहरु डरले चिच्याएको आवाज प्रष्ट सुन्न सकिन्छ भने आगलागीको कारणले खाना पकाउने ग्यास पड्केको समेत आवाज सुनिन्छ ।